Wed. Nov 27th, 2024

धादिङका १२ गाविस पूर्ण खोपयुक्त गाविस घोषित

सरिता श्रेष्ठ / २९  असोज, धादिङ –

धादिङका १२ गाँउ विकास समितिलाई पूर्ण खोपयुक्त गाविस घोषित गरिएको छ । असोज ११ गते नलाङ गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषित गरेसँगै जिल्लामा पूर्ण खोपयुक्त गाविस घोषित हुने गाविसको संख्या १२ पुगेको हो ।

फाइल फोटो
फाइल फोटो

‘स्थानीय स्वामित्व र सहभागिता, पुर्ण खोप सुनिश्चितता’ भन्ने नाराको साथ सन् २०१७ सम्ममा जिल्लालाई नै पूर्ण खोपयुक्त बनाउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यलय धादिङको समन्वय र सम्बन्धित गाविसको सहयोगमा ०७१ साउन २ गते पहिलो पटक साविकको मुरलीभन्ज्याङलाई पहिलो पटक पूर्ण खोपयुक्त गाविस घोषित गरिएको थियो । त्यसपछि क्रमश अन्य गाविसहरुलाई पनि पूर्णखोपयुक्त गाविस घोषित गरेको हो ।

जिल्लाको साविकको मुरलीभन्ज्याङमा ९३, मैदीमा १ सय ८९, ढोलामा १ सय ५०, सल्यानकोटमा १ सय ५, फुलखर्कमा ६८, बुढाथुममा ७१, बसेरीमा ६५, मुलपानीमा ४५, सल्यानटारमा १ सय २८, गुम्दीमा ७२, ज्यामरुङमा १ सय ७१, र नलाङमा १ सय १६ बालबालिका रहेकोमा सबै बालबालिकाले अनिवार्य रुपमा खोप लगाएको पाइएपछि गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषित गरिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका खोप अधिकृत शरद आचार्यले जानकारी दिए ।

जन्मेदेखि २३ महिना उमेर समूहभित्रका बालबालिकाले लगाउनुपर्ने सबै प्रकारका खोपको मात्रा पूरा गरेका बलबालिकाले पूर्ण खोप पाएको घोषणा गरिएसँगै गाविसहरुलाई पूर्ण खोप गाविस घोषित गरिएको हो ।
एक नगरपालिका सहित ४६ गाविस रहेको जिल्लाका अन्य गाविसहरुलाई पनि क्रमश पूर्ण खोपयुक्त गाविस घोषित गर्दै जाने खोप अधिकृत आचार्यको भनाई छ ।

नेपालले अन्तराष्ट्रिय समुदायमा विभिन्न रोगहरुको उन्मुलन र न्युनिकरण गर्ने प्रतिबद्धता गरेकाले त्यस्ता रोगको उन्मुलन र न्युनीकरणका लागि पूर्ण खोपयुक्त क्षेत्र घोषणा अभियान सञ्चालन गरिएको हो ।

About The Author

अन्य समाचारहरु: