१६ असोज, धादिङ
दशैंको टिकाको तेस्रो दिन आज पनि मान्यजनबाट टिका, जमरा र आर्शिवाद ग्रहण गर्ने क्रम जारी छ ।
विजयादशमीका दिन मान्यजनबाट टिका ग्रहण गर्न नपाएकाहरुले टिका लगाइरहेका छन् । विशेष गरी विजया दशमीको दिन आफ्ना दाजुभाई तथा नजिकका आफन्तकोमा टिका लगाएपछि ससुराली, मावलीतर्फ टिका लगाउने गरिन्छ ।
विजया दशमीको दिनबाट सुरु भएको टिका कोजाग्रत पूर्णिमाको दिनसम्म लगाउने चलन छ । लामो समयसम्म भेटघाट नभएका आफन्तहरु भेट्ने अवसरका रुपमा दशैंलाई लिने गरिएको छ । दशैंले आपसी सद्भाव, विश्वास र भाइचारा अझ बढाउने गरेको छ ।
मान्यजनको हातबाट टीका र जमरा लगाएर आशिर्वाद ग्रहण गर्न जानेहरुको चहलपहलले शहरबजारमा भीडभाड बढेको छ । धादिङवेशी सदरमुकामको सडकमा सार्वजनिक तथा नीजि सवारी साधन बाक्लो गुड्न थालेका छन् ।
दशैंका लागि सदरमुकामवाट बाहिरिएकाहरु पनि फर्कने क्रम सुरु भएको छ । भोली मंगलबारदेखि सरकारी कार्यालय खुल्ने भएकाले पनि अधिकांश कर्मचारीहरु धादिङवेशी आउने क्रम तिब्र भएको छ ।
२०७४ असोज १६ गते प्रकाशित