Wed. Mar 12th, 2025

उत्तरी धादिङमा लाग्ने त्रिपुरासुन्दरी मेलाको सम्पूर्ण तयारी पूरा

tripura sundari mela 1धादिङ – आगामी मंसिर २६ र २७ गते हुने त्रिपुरा सुन्दरी माइको जात्राको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

धादिङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने त्रिपुरा सुन्दरी माइको जात्रा जात्रा हरेक बर्षको मङ्सिर महिनामा उत्तम तिथि हेरेर भब्य रुपमा मनाइने गर्दछ । ।

यस जात्रालाई माईस्थान जात्रा वा सल्यानवेसी जात्रा भनेर पनि चिनिने गरिन्छ । हरेक बर्ष उत्तम साइत हेरेर यो जात्रा भव्य रुपमा मनाउने गरिन्छ । जात्राको मिति तिहारको भाइटिकाको दिन सार्वजनिक गर्ने चलन छ भने हरेक वर्षको जात्रा मंसिर महिनामा पर्ने गर्छ । पहाडी क्षेत्रको ठुलो मेला अर्थात माइस्थान जात्राको नामले परिचित यस मललाई न्वागी जात्राको नाममा समेत चिनिन्छ ।

जिल्ला सदरमुकाम धादिङबेशीबाट चालिस किलोमिटर उत्तरतर्फ पर्ने यो मन्दिरमा जात्रा हेर्नका लागि छिमेकी जिल्ला गोरखा, नुवाकोट, चितवन, काठमाडौँलगायतका श्रद्धालु भक्तजनहरु आउने गर्दछन् । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको यस स्थानको बारेमा शिलालेखमा उल्लेख भए बमोजिम नेपाल एकीकरणको बेला पृथ्वीनारायण साहले यसै त्रिपुरा भगवतीको आशिर्बाद पाएपछि मात्र नुवाकोट तथा काठमाडौंको बिजय सम्भव भएको हो भन्ने उल्लेख गरिएको छ ।

tripurasundari mela 2

प्राचिन कालदेखि शाहवंशिय राजाहरुले बिशेष महत्वका साथ यस स्थानमा पुजापाठ गर्ने गरेको तथ्य भेटिन्छ । यस त्रिपुरासुन्दरीको सल्यानकोट र आगिन्चोक १ स्थित सल्यानबेसीमा गरेर दुर्इ ओटा मन्दिर रहेको छ । मङ्सिर महिनामा माथि डांडाको मन्दिरबाट भगवतीको मुर्तिलाई बाकसभित्र राखी पिठ्युमा बोकेर करिव तिन घण्टाको पैदल दुरीमा पुगिने सल्यानबेशिको मन्दिरमा ल्याइन्छ । रानामगर थरका पुजारीले मात्र छुन मिल्ने त्यस मुर्ति कस्तो आकारको छ वा त्यस बाकसभित्र के छ भनेर आम सर्बसाधारणहरुले अहिलेसम्म देख्न पाएका छैनन् । तिमिल्सेना र सापकोटा थरका पुरोहित र रानामगर थरका पुजारीले बाहेक अन्यले हेर्न र छुन नपाउने अनौठो प्रचलन समेत यस मन्दिरमा रहिआएको छ । यस जात्रालाई अहिले धार्मिक आस्थाका साथ पर्यटकीय दृष्टिले पनि हेर्न थालिएको छ । साँस्कृतिक पर्यटन प्रबद्र्धन कागि केही पहल कदमी भएको देखिएपनि आवश्यक अनुरुप हुन नसक्दा यस जात्रा अझै ओझेलमै छ ।

यसैबीच, श्री अचने भुपु विद्यार्थी समाजले जात्राको अवसर पारेर आकस्मिक स्वास्थ्य सेवा तथा २ सय बढी स्वयंसेवक परिचालन गर्ने जनाएको छ । समाजका अध्यक्ष सितलचन्द्र धरेलले जात्रामा आई पर्न सक्ने विभिन्न स्वास्थ्य सम्बन्धि समस्या र त्यहाको व्यवस्थापनमा सहयोग पुर्‍याउन समाजले यस्तो कार्यक्रम गर्न लागेको बताए । यसका साथ, टुकि नेपाल, धादिङ स्वास्थय समाज, श्री अचने उच्च मावि, रेडक्रम सोसाइटी लगायतका विभिन्न संघसंस्थाले समेत विविध कार्यक्रम गर्न लागेको जनाएको छ ।

About The Author

अन्य समाचारहरु: