दृष्टिविन्दू –
नेकपा एमाले अगुवाहरुको योगदानले उठेको पार्टी हो । त्यसको निमार्णमा सयौं नेताहरुले जीवनको कुर्वानी गरेका छन् , हजारै कार्यकर्ताले रगत वगाएका छन्, लाखौजनताले पसिना खर्चेका छन् । निरंकुश पञ्चायती व्यवस्थाको दबदबामा पनि पार्टीको सन्देश घर घरमा पुगेको थियो । धादिङकै इतिहास हेर्ने हो भने सम्मानित संस्थापक कमरेडहरु आज पर्यन्त पार्टी नेतृत्वमा हुनुहुन्छ । वहाँहरुको हिजोका योगदान र सकृयताका घटना आज पछिल्लो पुस्ताका लागि किंवदन्ती जस्तै हुन्छ । जनताका दैनिक काममा संगसंगै बसेर सघाएर पार्टीका कुरा बुझाउनु भयो, संगै रोपाई गरेर, संगै भारी बोकेर, संगै पधेरो गएर । जे जनताले खाए त्यही खानुभो , जसरी उनीहरुले रात काटे उसै गरी रात कटाउनु भो ।
यसै गरी जित्नु भो जनताका मन । त्यो स्कूलमा एमालेको शिक्षक छ त्यसले राम्रो पढाइ हुन्छ भन्ने छाप पार्नुभो । हिजो स्कूल छुटेपछि हिड्नु भो, रातभर पार्टी संगठनमा लाग्नु भो, कति ठाँउमा सामान्त र पुलिसको आँखा पनि छल्नु थियो होला । फेरी भोलीपल्ट अरुसंगै स्कूल पुग्नु भो । अरुले भन्दा राम्रो पढाउनु भो । जित्नु भो विद्यार्थीको मन, अभिभावकको विश्वास । थकाई विर्सिनु भो, निन्द्रा विर्सिनु भो घर, परिवारको काम र दायित्वलाई समेत पन्छाउनु भो । जेल नेल र यातनाले गाल्न सकेन शरीर र मनलाइृ । जुन कार्यालयमा एमालेलाई माया गर्ने कर्मचारी आयो, त्यही भयो जनताको काम । अर्थात जहाँ जहाँ एमाले पुग्यो जनताका कामले विश्वास जित्यो , पार्टीलाई माथि पुर्यायो । हो अहिले पनि हिजो तिनै नेताहरुबाट प्रशिक्षण पाएका कार्यकर्ता आफ्नै पुराना नेता जस्तै छन् इमान्दार । आत्म अनुशासनले पार्टीको इज्जतलाई बचाई रहेका छन् समुदायमा ।
तर यी सबै हिजोका त्याग, तपस्या र बलीदानी आज आँखा अगाडी स्खलित भै रहेको देख्दा सज्जन कार्यकर्ताहरुको मन अमीलो भै रहेको देखिन्छ । आफ्नै नेताका शौखिन शैलीले स्वाभीमान गुमेको महसुस गर्दछन् कार्यकर्ता । तल्लो तहमा पार्टी संगठन त मरे मरे, त्यसमा पनि शहर पसेका नेताहरु अब आउँ फर्किन छाडे । आशा लाग्छ नेताहरु समय समयमा गाउँ आईदिउन , पार्टीको सन्देशहरु भनून्, हामीले दुःख गरेर समुदायमा गरेका कामहरुको जश लिउन, दुःखमा छौं कम्तिमा हौसला दिऊन् । यी सब आस आस मात्र भए ।
सांस्कृतिक पर्वहरुका कति महत्व हुन्थे उतिवेला पाटीृको प्रचार गर्न, नेताहरु जसरी पनि उपस्थित हुन्थे बरु छद्म भेषमा भने पनि । यहाँ सम्म कि गत मंसिर ६ र ७ गते गंगा जमुनाको मेला थियो, धादिङलाई पर्यटकीय गन्तव्य बनाउन व्यवसायी युवाहरु दिलोज्यानले लागेका छन् , सरकारको नेतृत्व पार्टीले गरेको छ । स्थानीय युवाहरुले अनुनय विनय गरे पार्टीलाई आइदिनका लागि । वृहत ठूलो उत्साह जनक प्रतिक्षा भयो तर त्यो उत्साह शीतको थोपा झै झर्यो कि नेताहरुले हेलीकप्टर पाउनु भएन अनि आउनु भएन । कति लाज मर्दो छ कुरा, धादिङका पार्टी अध्यक्ष, इन्चार्ज, सभाषद र केन्द्रिय सदस्यलाई फूलखर्क जान हेलीकप्टर चाहिने ? गाडीमा जान नहुने ? बल्ल तल्ल व्यवसायी साथीहरुले एउटा हेलीकप्टरको जोहो गर्न सके तर सबै अट्ने कुरा थिएन । कस्लाई लाने कस्लाई छोड्ने त्यही समस्याले रद्द भयो ।
टुरिस्ट भए नेताहरु । केन्द्रमा गुटका प्रमुखहरुको अघिपछि चम्चागिरी गर्ने डिग आक्ने तर जिल्लामा पार्टी कामको सिन्को नभाँच्ने । गणेश जीले माता पिताको अघिपछि घुमेर आशिर्वाद पाएजसरी भोली पद प्रतिष्ठाको टिकट लिन को पहिला पुग्ने चाकडी दौडमा दौडिने तर जिल्लाको कार्यक्रममा सहभागि नहुने । जनता कसैको पेवा होइनन् कमरेड, भोली फैसला त उनैले गर्ने हुन् । आज पार्टी जिम्मेवारीको वागडोर तपाईहरुको हातमा छ अध्यक्ष÷ इन्चार्ज कमरेड, याद राख्नुहोस् यो सधैका लागि तपाईका नाममा बकस पत्र गरिएको छैन । एैन मौकामा कार्यकर्ताले यसको उचित मूल्यांकन गर्नेनै छन् । जनता कार्यकर्ताहरु तपाईको मुख हेरेर एमाले बनेका हैनन् , उनीहरुलाई यो पार्टीको अगाध माया र विश्वास छ । तपाई नहुँदा पनि पार्टीलाई विजयश्री पहिर्याउने ताकत उनीहरुसंगै छ ।