२० काठमाडौँ, मङ्सिर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई तत्काल निर्माणको चरणमा लैजान सरोकार भएकाले आग्रह गरेका छन् ।
फ्रान्सेली कम्पनी ट्र्र््याक्टबेलले विस्तृत परियोजना प्रतिवेदन तयार पारिसकेको र सो प्रतिवेदन छलफलका क्रममा रहेकाले तत्काल निर्णय गरेर निर्माण सुरु गर्न जोड दिइएको हो ।
बूढीगण्डकी जलविद्युत् आयोजना सरोकार समितिले आज यहाँ आयोजना गरेको छलफलमा सहभागीहरूले सो आयोजना नेपालको महत्वपूर्ण आयोजना भएकाले तत्काल सुरु गर्न आग्रह गरेका हुन् ।
कुल एक हजार २०० मेगावाट क्षमताको सो आयोजनालाई सरकारले चालु आवमा रु तीन अर्ब २५ करोड बजेट विनियोजन गरेको छ । सो आयोजनाका कारण धादिङ र गोरखाका करिब पाँच हजार परिवारका ४५ हजार नागरिकलाई विस्थापन गर्नुपर्ने भएकोछ ।
गत वैशाख १२ गतेको गोरखा भूकम्पका कारण आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीले घर तथा आवास पुनःनिर्माण गर्न पाएका छैनन् । प्रभावित क्षेत्रका जनताले आयोजना तत्काल सुरु गर्नुपर्ने विचार राख्नुभएको थियो ।
आयोजना प्रभावित क्षेत्रका जनताले मुआब्जा वितरण गरेर काम सुरु गर्न र स्थानीयले सो आयोजना आफ्नो हो भन्ने अपनत्व गर्न पाउने वातावरण निर्माण गर्न ध्यानाकर्षण गराएका छन् ।
सो अवसरमा उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले स्थानीय जनताको माग र भावनालाई सम्बोधन गर्ने गरी आयोजना अगाडि बढाइने बताउनुभयो ।
उहाँले सो आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राखेको भन्दै तत्कालै उपयुक्त र वैज्ञानिक निर्णय गर्ने उल्लेख गर्दै सबै पक्षको भावनालाई सम्मान गरिने उल्लेख गर्नुभयो ।
आयोजनालाई समितिमार्फत अगाडि बढाउने कि कम्पनी मोडलमा अगाडि बढाउने भन्नेमा छलफल जारी रहेको भन्दै मन्त्री रायमाझीले सो सम्बन्धमा समेत उचित निर्णय लिइने बताउनुभयो ।
मुलुकभित्रै सो आयोजनालाई लगानी गर्न सकिने रकम जुट्ने सम्भावना देखिएकाले चाँडै उपयुक्त निर्णय लिइने उहाँले विचार व्यक्त गर्नुभयो ।
व्यवस्थापिका–संसद् मातहतको कृषि तथा जलस्रोत समितिका सभापति गगन थापाले स्वदेशी लगानीमा नै सो आयोजना अगाडि बढाउन सकिने धारणा राख्नुभएको थियो ।
उहाँले सो आयोजनाको लगानीको मोडलका विषयमा समितिमा समेत छलफल भइसकेको उल्लेख गर्दै आगामी दिनमा समेत थप सहजीकरण गर्न तयार रहेको बताउनुभयो ।
नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले स्थानीयवासीको माग र चाहनालाई सम्बोधन गर्दै तत्काल आयोजना निर्माण सुरु गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले सो आयोजनालाई सम्पन्न गराउन स्थानीयवासी जस्तोसुकै निर्णय गर्न तयार रहेको भन्दै सरकारले तत्काल उचित निर्णय गर्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा (एमाले)का सांसद गुरूप्रसाद बुर्लाकोटीले आयोजना मुलुकको भएकाले स्थानीयवासीबाट अवरोध हुन्छ कि भन्ने आशङ्का नराख्न आग्रह गर्नुभएको थियो । उहाँले आयोजनामा स्थानीयवासीको शेयर, श्रम, लगानी गर्न पाउने प्रावधान समेट्नुपर्नेमा जोड दिनुभएको थियो ।
एमाओवादीका सांसद छमबहादुर गुरुङले आयोजनालाई सफल बनाउन जस्तोसुकै सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभयो ।
आयोजनाका अध्यक्ष लक्ष्मीप्रसाद देवकोटाले आयोजनाले चालु आवभित्रै स्थानीयवासीलाई मुआब्जा वितरण गर्न सुरु गर्ने र आयोजना निर्माणको चरणमा प्रवेश गर्ने जानकारी गराउनुभएको थियो ।