Wed. Mar 12th, 2025

चिसोमा भूकम्प पीडितलाई स्वास्थ्य समस्या र जोगिने उपाय

bhukampa २०मंसिर,काठमाडौं – भूकम्पका कारण विस्थापित नागरिक अझै पनि अस्थायी पाल र टहरामा बस्दै आएका छन् । तत्काल राहत भन्दै सरकारले दिएको १५ हजार र दाताले दिएको राहतकै भरमा उनीहरुको ७ महिना बितेको छ ।

विस्थापितको ओत भनेको त्रिपाल र जस्ताको टहरा नै हो । ‘स्थायी बासको त कुनै टुङ्गो नै छैन, त्यसमाथि हिउँदको चिसो बढेसँगै सास्ती पनि थपिएको छ’ खेतमा जस्ताको टहरा बनाएर बस्दै आउनुभएकी सिन्धुपाल्चोक बाह्रबिसेकी तारा योञ्जनले भन्नुभयो । जति जति चिसो बढ्दैछ त्यति नै सास्ती पनि थपिंदै गएको उहाँले सुनाउनुभयो ।

भूकम्पले घर ढलेर विस्थापित भएका धेरैको त अहिलेसम्म पुरानो पाल समेत फेरिएको छैन । पुरानो पालमै टालटुल पारेर बस्नुपर्ने बाध्यता छ । विस्थापितलाई पुनर्स्थापनाका लागि सरकारी नीति के हो भन्ने नै प्रष्ट छैन । विस्थापितमा घर बनाउने कि नबनाउने अन्यौल छ । प्रतिपरिवार दिने भनेको २ लाख रुपैयाँ र सहुलियतपूर्ण ऋण कसरी आउने हो थाहा नै छैन । त्यसैले पनि धेरैको बास अस्थायी टहरामा छ ।

चिसो बढेसँगै भूकम्पका कारण विस्थापित नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको छ । विस्थापितलाई ज्वरो, रुघाखोकी, ढाड कम्मर दुख्ने समस्या देखिएको छ । उनीहरु बस्दै आएको शिविरमा ओढ्ने ओछ्याउने कपडाको राम्रो व्यवस्था हुन सकेको छैन । त्यसैले अस्थायी शिविरमा बस्दै आएका महिला, बालबालिका, सुत्केरी तथा बृद्धबृद्धा बिरामी पर्न थालेका छन् ।

यतिबेला विस्थापित नागरिक समुहमा बसेका छन् । त्यसैले सर्ने खालका रोग एउटाबाट अर्कोमा रोग छिट्टै सर्न सक्छ । त्यसमाथि मौसम परिवर्तन हुँदा त रुघाखोकी, टाउको दुख्ने र ज्वरो आउने आम समस्या नै हो । चिसो बढ्दै जाँदा सर्ने तथा नसर्ने दुवैखाले रोगको संक्रमण बढ्न सक्ने सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुनले बताउनुभयो ।
चिसोमा हुनसक्ने संक्रमण

चिसोका कारण हुने झाडापखाला अर्थात् विन्टर डाइरिया । यो रोटा भाइरस र नोरा भाइरसबाट सर्ने गरेको छ । रोटा भाइरसले ५ वर्षमुनिका बालबालिकालाई बढि सताउने गर्छ । विश्वमै रोटा भाइरस बालबालिकाको ज्यान जाने प्रमुख कारण हो ।

विन्टर डाइरिया वयस्कमा बढि लाग्ने भाइरस नोरा भाइरस हो । तर डा. पुनका अनुसार नोरा भाइरस बालबालिकामा पनि उत्तिकै समस्या हो । यो भाइरस जहाँ एकै ठाउँमा धेरै जनाको सम्पर्क हुन्छ त्यस्ता ठाउँमा एक्कासी देखिन्छ ।

श्वासप्रश्वासको समस्या भाइरल इन्फेक्सन वा इन्फुएन्जा अथात् फ्लु । यसैका कारणले निमोनिया हुने संम्भावना बढी हुन्छ । यो पनि बढि बालबालिका, महिला र बृद्धबृद्धामा देखा पर्छ । बृद्धबृद्धा जो दम र मुटुका विरामी छन्, उनीहरुलाई समाउने संभावना बढी हुन्छ । अरुमा पनि निमोनियाको जोखिम हुन्छ । नसर्ने रोगमा हृदयघात हो । चिसोमा छाला सम्बन्धि रोग र हात, खुट्टा दुख्ने गर्छ ।
कसरी जोगिने ?

चिसो मौसममा एक्ला एक्लै भन्दा समुहमा बस्ने गरिन्छ । एउटै कपडा एकअर्काले प्रयोग गर्ने र एउटै ओछ्यानमा सँगै बस्ने, सुत्ने गरिन्छ । यो बेला जो संक्रमित छन्, उनीहरु समुहमा बस्नु हुँदैन । जहाँ बढी भेटघाट र हुलमुल हुन्छ त्यहाँ पनि सकभर नजान डाक्टरको सल्लाह छ ।

हात, खुट्टा र मुख छोपेर शरीर न्यानो पारेर बस्नु र हिँड्नु राम्रो हुन्छ । तातो र झोलिलो पदार्थ बढी मात्रामा खानु पर्छ । भूकम्पका बेला पाल, जस्तामा जसरी बसेको भएपनि आफूसँग भएका सामग्रीको सही सदुपयोग गर्न डाक्टरकोे सुझाव छ ।

साथै यस्तो बेला विस्थापितलाई सरकारी तथा गैरसरकारी संघसंस्थाबाट दिने राहत सामग्री, चिसो थेग्ने र रोगको संक्रमणबाट कसरी जोगिने भन्ने जानकारी पनि गराउन सके पनि रोगको जोखिम घटाउन सकिने डाक्टरले बताएका छन् । उज्यालोबाट साभा

About The Author

अन्य समाचारहरु: