१८ मंसिर, धादिङ – धादिङ सदरमुकाम धादिङबेसीमा अपाङमैत्री शौचालय निर्माण हुने भएको छ । शौचालयको शुक्रबार एक कार्यक्रमकाबीच नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीले शिलान्यास गरे ।
धादिङ समाज दक्षिण कोरियाको सहयोगमा १५ लाख १७ हजार ६ सय १८ रुपैया ६३ पैसाको लागतमा निर्माण हुन लागेको शौचालयको काम आगामी चैत्र भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । शौचालय निर्माण भएपछि जिल्लाकै एक मात्र अपाङ्गमैत्री सार्वजनिक शौचालय हुने धादिङ समाज दक्षिण कोरियाका पुर्व उपाध्यक्ष मनोज थापाले बताए ।
सार्वजनिक शौचालय नहुदा धादिङबेसीमा विभिन्न कामको लागि आउने नागरिकहरु समस्यामा पर्ने गरेका छन् ।
हाल सम्म पनि सदरमुकाम धादिङबेसीमा व्यवस्थित सार्वजनिक शौचालय नहुँदा विभिन्न कामको लागि सदरमुकाम आउने नागरिकहरुले समस्या झेल्दै आएका छन् । शौच गर्नकै लागि होटल र सरकारी कार्यलय पुग्नुपर्ने बाध्यता धादिङ्गबेसीमा अहिले पनि कायमै छ । महिला, पुरुष र अपाङ्गता भएकाहरुको लागि छुट्टा छुट्टै दिशा, पिशास गर्ने सँगै बाथरुम सहितको शौचालय निर्माण गर्ने उदेश्य आफुहरुको रहेको समाजका संस्थापका अध्यक्ष सुदर्शन खतिवडाले बताए ।
शौचालय निर्माणमा लाग्ने लागत रकम जुटाउनको लागि समाजका कोषाध्यक्ष सन्तोष अधिकारीको सक्रियतामा कोरियाबासी धादिङेलीहरुले आ९आफ्नो व्यक्तिगत कमाई बाट केहि प्रतिशत कटाएर सहयोग गरेका छन् । परदेशमा बसेर पनि साथीहरुको साथ र सहयोगमा यसरि मातृभूमिको सेवा गर्न पाएकोमा अधिकारी गर्व ब्यक्त गर्दछन् । उनले आगामी दिनहरुमा पनि सामाजिक कार्यमा संधै सहकार्य गरेर मातृभूमिको सेवा गर्नको लागि साथीहरुको साथ र सहयोग जुटिराख्ने विश्वासका साथ सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद व्यक्त गरे ।