लैङ्गिक हिंसा विरुद्धको सोह्र दिने अभियान सुरु भएको छ । प्रत्येक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख (मंसिर ९ गतेदेखि मंसिर २५ गते) सम्म मनाइने अभियान यस वर्ष जिल्लाका विभिन्न स्थानमा महिला हिंसा विरुद्धका चेतनामुलक कार्यक्रम सहित मनाइरहेको छ । घर शान्ति नै विश्व शान्तिको आधार, पुनः निर्माण शिक्षा र समान व्यवहार भन्ने नारा यस वर्षमा तय गरिएको छ । सन् १९६० को नोभेम्बर २५ का दिन हत्या गरिएका डोमिनिकन रिपब्ल्लिकका तीन साहसिक दिदी बहिनीहरु पाट्रिया, मर्निभा र मारियाको बलिदानी त्याग र उच्च साहसको सम्मान र सम्झना गर्दै उक्त दिनलाई ल्याटिन अमेरिकी देशहरुमा महिला हिंसाविरुद्धको दिवसको रुपमा मनाउन थालिएको हो । त्यसको झण्डै तीन दशकपछि सन् १९९९ को डिसेम्बर १७ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले त्यसै दिनलाई अन्तर्राष्ट्रिय महिलाहिंसा विरुद्धको दिवसको रुपमा घोषणा गरेको हो । अभियानलाई सार्थक बनाउनका लागि महिला तथा बालबालिका कार्यलय धादिङको संयोजनमा विभिन्न संघसंस्थाहरुले चेतनामूलक कार्यक्रमहरुको आयोजना गरिरहेको छ । यसै सन्दर्भमा महिला तथा बालबालिका कार्यलय धादिङका निमित्त महिला तथा बालबालिका अधिकृत ईश्वरी मल्ल शाहसँग पाविलन्युज डट कमका संवाददाता अस्मिता खतिवडाले गरेको कुराकानी
१) जिल्लामा महिला तथा बालिकाको अवस्था कस्तो पाऊनुभएको छ ?
जिल्लामा महिला तथा बालबािलकाको अवश्थामा पहिला भन्दा धेरै सुधार आएको छ, किनकी महिला तथा वालवालिका कार्यलयले सबै क्षेत्रमा अथवा १ नगरपालिका सहित ४६ गाऊँ विकास समितिमा आफ्नो कार्यक्रम विस्तार गरिसकेको छ । गाऊँ गाऊँमा महिला समुह, किशोरी समुह, निगरानी समुह र महिला सहकारीहरु स्थापना गरिसकेको छ । हामीले क्षमता विकास र सिप विकास तालिम दिई वस्तुगत टेवा स्वरुप केहि रकम पनि उपलब्ध गराउने गरेका छौँ । त्यस्तै महिला किशोरीहरुको आर्थिक, सामाजीक र शसक्तिकरणका लागि अन्य सरकारी कार्यलय र सामाजीक संघ संस्थाहरुले पनि काम गरिरहेका छन् ।
२) जिल्लामा विशेषगरी कस्ता प्रकारका महिला हिंसाका घटनाहरु सार्वजनिक भएका छन् ?
हामी कहाँ सबैभन्दा बढि घरेलू हिंसाका घटनाहरु आउने गरेका छन् । बहु विवाह र वलत्कारका घटनाहरु पनि त्यत्तिकै मात्रामा छन् ।
३) हिंसा न्युनिकरणका लागि के कस्ता प्रयासहरु भएका छन् त ?
यसका लागि हामीले धेरै गाऊँमा निगरानी समुह गठन गरिरहेका छौँ । ति समुहहरुलाई समय समयमा तालिम दिने, जसमा विशेषगरी पिडा र मैदी गाविसमा लैगिंक हिंसा न्युनिकरणका लागि महिला संस्थाहरुको एकिकृत विकास ार्यक्रम लागु गरिएको छ । त्यस मार्फत ती गाविसका सबै वडाहरुमा निगरानी समुह समेत गठन गरिएको छ ।
४) यतिवेला हामी लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान मनाइरहेका छौँ, अभियानका सन्दर्भमा जिल्लामा के कस्ता कार्यक्रम भइरहेका छन् ?
यो अभियानका सन्दर्भमा जिल्लामा क्रियाशिल सरकारी तथा गैरसरकारी संघसंस्थाहरु सबैको सहयोग प्राप्त भइराखेको छ । जस अन्तर्गत सहयात्री समाज नेपालको आयोजनामा त्रिुरेश्वर, थाँक्रे, मूलपानी र नलाङ गाविसमा लैगिंक हिंसा विरुद्धको जनचेतनामुलक लोकगित प्रतियोगिता, पर्चा वितरण र मन्तव्यको कार्यक्रमसंचालन भइरहेको छ । रेडियो धादिङ १०६ मेघाहर्जबाट नोभेम्बर २५ देखी डिसेम्वर १० सम्मका लागी प्रत्येक दिन रेडियो कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यस्तै स्थानिय अन्य रेडियो, टेलिभिजन, अनलाइन तथा पत्रपत्रिका पनि सक्रिय रुपमा लागी परेका छन् भने जिल्लामा रहेका विभिन्न संघसंस्थाहरुले गाविस स्तरमा विभिन्न चेतनामूलक कार्यक्रमहरु संचालन गरिरहेका छन् ।
५) हामीले वर्षेनी लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान मनाइरहेका छौँ तर खासै उपलब्धी त देखिएको छैन नी ?
कार्यक्रम र दिवस मनाऊने वित्तिकै त्यसको उपलब्धी तुरुन्तै देखिने विषय होइन, यसले आफ्नो क्षेत्रमा दिर्घकालीन असर कत्तिको पारेका छ भन्ने कूरा महत्वपूर्ण हो । त्यस माथी पहिला भन्दा अहिले धेरै मात्रामा घटनाहरु बाहिर आइरहेका छन् र पिडितहरुले बोल्न थालेका छन् यसलाई नै राम्रो उपलब्धीको रुपमा लिनुपर्दछ ।
६) त्यसो भए अघिल्लो वर्षको तुलनामा केही हदसम्म हिंसा न्युनिकरण भएको हो त ? के लाग्छ ?
हिंसा न्युनिकरण भएका छन् भन्दा पनि जनचेतनाका कारण घटनाहरु बाहिर आइरहेका छन् । जसमा तपाईहरु जस्ता मिडियाकर्मीहरुको योगदान पनि महत्वपुर्ण छ ।
७) लैगिंक हिंसा न्युनिकरणका सन्दर्भमा संचालन भइरहेका कार्यक्रमहरु प्रभावकारी छ भन्ने आधार चाहिँ के त ?
हिजो श्रीमानको नाम लिंदा पाप लाग्छ भन्ने दिदिबहिनीहरु आज समाजका अगुवा भएका छन्, हिंसामा परेकाहरुको पैरवी गर्न सक्ने भएका छन् । विभिन्न व्यवसाय संचालन गरि आर्थिकोपार्जनमा लागेका छन्, महिला शसक्तिकरण भएको छ ।
८) भुकम्प पछि महिला तथा किशोरीहरु वेचविखनको जोखिममा छन् विस्थापित शिविरमै पनि सुरक्षाको डर छ, यस्ता समस्या समाधानका लागि जिल्लामा के कस्ता पह भइरहेका छन् ?
यस्तो वेला वेचविखनको जोखिम हुनु र सुरक्षाको डर हुनु स्वभाविक हो त्यसैले हामी सबै सरोकारवाला सरकारी निकाय र संघसंस्थाहरुले पहिले देखी नै सर्तक र चनाखो भएर हेरिराखेका छौँ । शिविरमा वस्ने विशेषगरी महिला तथा किशोरीहरुलाई वेचविखनको बारेमा, जोखिमको बारेमा कसरी सुरक्षित रहने भनेर जानकारी पनि गराइरहेका छौँ ।
९) उसो त जानकार व्यक्तिहरु नै हिंसा गर्ने कार्यमा संलग्न छन् भनिन्छ नी ?
तपाईंको प्रश्न एकदम सहि हो । नबुझ्नेले मात्रै होइन बुझ्नेले नै हिंसा गरिहेका छन् यो दुःखको कुरा पनि हो ।
१०) महिला हिंसा न्युनिकरणका सन्दर्भमा तपाईहरुले काम गर्दै आऊँदा भोग्नुपरेका चुनौतीहरु के के छन् ?
महिलाको क्षेत्रमा काम गर्दा विभिन्न चुनौतीको सामना त स्वतः गर्नुपर्दछ । एकातिर महिला शिक्षित छैनन् भने अर्कातिर समाजमा महिलालाई हेर्ने दृष्टिकोण परै बदलीसकेको छैन । पितृसतात्मक सोच अझै हाबी भएकाले महिलाहरुको क्षेत्रमा काम गर्दा पाइला पाइलामा कठिनाई आऊने गर्दछ ।
११) के भयो भने चाहिँ काम गर्न सहज होला र सञ्चालित कार्यक्रम पनि प्रभावकारी होला ?
यसका लागी सबैभन्दा पहिले त घरेलू हिंसाका सम्बन्धमा बनेका कानुनहरु व्यवहारमा लागु हुनुपर्यो, हिंसा न्युनिकरणका सन्दर्भमा सञ्चार माध्यमहरुले पनि नियमित प्रचार स्रसार गर्नुपर्यो । यस विषयलाई विद्यालय स्तरबाटै पाठ्यक्रममा समेत समावेश गरिनुपर्छ । सार्वजनिक यातायातका चालक तथा सहचालकहरुलाई पनि अभिमुखिकरण तालिम दिइनुपर्छ । सरकारी तथा गैर सरकारी संघसंस्थाहरुले सबै कार्यक्रममा महिला हिंसा विरुद्धका विषयलाई प्राथमिकता दिनुपर्दछ ।
१२) त्यसका लागी तपाईं र महिला तथा वालकालिका कार्यलय धादिङको भूमिका के हुन सक्छ ?
महिला तथा बालबालिकाको समष्टिगत विकासका लागि काम गर्नु महिला तथा बालबालिका कार्यलयको मूख्य काम हो । यस अन्तर्गत महलिा हिंसा मात्रै होइन महलिाको आर्थिक, समाजीक र शसक्तीकरणका लागी समेत हामी सदैव लागि पर्नेछौँ ।
१३) अन्तमा,
मैले महिला दिदिबहिनी र सबै क्षेत्रका व्यत्ति समक्ष धेरै कुरा राखन पाएं, महिला हिंसा न्युनिकरणका सन्दर्भमा मिडियाको भूमिका अहम हुन्छ । मिडियाले अझै आफ्नो भुमिकालाई विस्तार गरि लैंगिक हिंसा न्युनिकरणमा योगदान दिन सकोस् । धन्यावाद ।