सरिता श्रेष्ठ / २८ मंसिर, धादिङ – जाडो महिना सुरु भइसकेको छ । उच्च हिमाली भेगहरुमा हिमपात नै हुन थालेको छ । यतिवेला उत्तरी धादिङका अधिकांश विद्यालयमा विद्यार्थीहरु वाक्लो स्वीटर र गम बुटमा विद्यालय आउन थालिसकेका छन । तर गत वैशाख १२ र २९ गतेको विनाशकारी भुकम्पका कारण क्षतविक्षत भएका विद्यालयहरुमा बाक्लो लुगा लगाएर पनि पढ्न असहज हुने देखिएको छ ।
विगतका वर्षहरुमा अत्याधिक जाडोका कारण झयाल–ढोका समेत लगाएर अध्यापन गराउने गरेका विद्यालयहरुमा यस बर्ष भुकम्पले विद्यालयका सवै कक्षाकोठाहरु भत्काइदिएपछि पढाइ समेत प्रभावित हुने देखिएको छ । च्याम्रादेवि माद्यमिक विद्यालयका शिक्षक मुल बहादुर तामाङले भने, ‘अहिले नै विद्यार्थीहरुलाइ अस्थाइ सिकाइ केन्द्रमा राखेर पढाउन गाह्रो भइसकेको छ । घाम लागेको बेला खुल्ला चौरमा राख्ने गरेका छौ । पानी पर्ने र हावा चल्न थालेपनि कोठामा ल्याउछौँ ।’ अस्थायी सिकाइ केन्द्र पनि चारैतिर खुल्ला र छाना मात्रै राखेर बनाइएकोले चिसो हावा चल्दा पनि पठन–पाठन प्रभावित हुने तामाङले बताए । जिल्ला शिक्षा कार्यलयवाट भत्किएको एउटा कक्षा कोठा बराबर २५ हजार रुपैया उपलब्ध गराएपनि त्यसले झ्यालढोका राखेर कक्षाकोठा निर्माण गर्न असम्भव भएपछि जाडो महिनामा कक्षा संचालन गर्न असहज हुने तिप्लिङकका स्थानिय आइति सिं घले बताए ।
उत्तरी क्षेत्रका कतिपय विद्यालयहरुले त अहिलेसम्म अस्थाइ शिकाइ केन्द्र समेत बनाउन नसक्दा त्रिपालमुनी नै सामुहिक कक्षा चलाइरहेका छन । झार्लाङ गाउँ विकास समितिको वडा नं १ गर्चोमा रहेको ज्योति प्राविले अहिलेसम्म त्रिपालमै कक्षा चलाइरहेको छ । ९६ जना विद्यार्थी रहेको विद्यालयको सवै कक्षाकोठाहरु भुकम्पले भत्काएपछि अहिले एउटा ठुलो त्रिपालमा तिन खण्ड बनाएर शिशु र १ कक्षा एउटा खण्डमा, २ र ३ कक्षा एउटा खण्डमा र ४ र ५ कक्षा अर्को खण्डमा राखेर विद्यालय चलाइरहेको छ ।
ज्योति प्राविका शिक्षक सुदिप तामाङले भने, ‘जिल्ला शिक्षा संगको सहकार्यमा फोकस नेपालले फलामे ट्रस सहयोग गर्ने त भएको छ तर बाटो छैन तयार भएको ट्रसलाइ कसरी विद्यालयसम्म ल्याउने हो थाहा छैन ।’ अहिले जसोतसो कक्षा संचालन गरिरहेको भएपनि अव तिहार पछाडी जाडो पनि निकै नै बढ्ने भएकाले समस्या हुने तामाङले बताए । यता विद्यार्थीहरुलाइ पनि एउटै त्रिपालमा राखेर पढाउदा पठनपाठन पनि राम्रो भएको छैन । कक्षा ५ कि छात्रा संझना तामाङले भनिन, ‘४ र ५ कक्षा एकै ठाउँमा बसेर पढेका छौँ । कहिले ४ कक्षाको किताव त कहिले ५ कक्षाको किताव पढ्नुपर्ने हुन्छ । साना साना भाइबहिनीहरुलाइ समस्या नभएपनि ठुलो कक्षामा एकैठाउँमा बसेर पढ्दा त पढाएको पनि नबुझिने हुँदो रहेछ ।’
अस्थाइ सिकाइ केन्द्र बनाएका विद्यालयहरुले पनि जाडो अलि बढि हुने वित्तिकै पढाउन नसकिने बताएका छन । विभिन्न संघ–सस्था र सरकारी निकायको पहलमा बनाएको अस्थाइ सिकाइ केन्द्र पनि चारैतिर खुल्ला हुने भएकाले हिउँ पर्ने समयमा पुरै समय विद्यालय बन्द गर्नुपर्ने शिक्षकहरु बताउँछन । दोङदेनदेवी माद्यमिक विद्यालय तिप्लिङका प्रधानाध्यापक सोम बहादुर तामाङले भने, ‘यसै त उत्तरी धादिङका विद्यालयहरुमा बाहिरवाट शिक्षकहरु ल्याएर राख्नुपर्दा चाडपर्वको समयमा लामो विदा दिनुपर्छ । त्यसैमाथि भुकम्पका कारण साढे २ महिना पठन–पाठन पुरै ठप्प भयो । अव चाडपर्व सकिएपछि विद्यालय पुर्ण रुपमा संचालनमा ल्याउने भनेका थियोँ तर चाँडै नै चिसो बढेको छ, कक्षाकोठाहरु छैनन विद्यार्थीहरुलाइ कहाँ राखेर पढाउने अन्यौलमा छौँ ।’ १० कक्षा सम्म पढाइ हुने विद्यालयहरुमा ४ वटा सम्म सिकाइ केन्द्र बनेको भएपनि सवैलाइ त्यती कक्षा कोठामा समेटेर पढाउन नसकिने तामाङले बताए ।
सडक संजालले पनि अहिलेसम्म नछोएको उत्तरी धादिङका ५ गाउँ विकास समितिहरु झार्लाङ, सेर्तुङ, तिप्लिङ, री र लापा मा ढुवानीको समस्या कारण अस्थायी सिकाइ केन्द्र पनि गतिलो बन्न सकेको छैन । कतिपय विद्यालयहरुले भत्किएका कक्षाकोठाकै काठपात र काम लाग्ने जस्तापाता प्रयोग गरेर र विभिन्न संघसस्थाले उपलब्ध गराएका जस्तापाताले केही कक्षा कोठा बनाएको भएपनि अव नियमित पठनपाठन त्यहा सभव नहुने शिक्षकहरुले बताएका छन । विभिन्न संघ सस्थाले विद्यालयलाइ आवश्यक पर्ने सामाग्रीहरु उपलब्ध गराउछु भनेको भएपनि ढुवानी गराउनु नै पहिलो समस्या भएको छ ।