अस्मिता खतिवडा, धादिङ / ७ मंसिर– तिहारमा खेलिएको देउसीभैलोबाट संकलित रकम, सेमजोङको चौतारा क्लबले विद्यार्थीहरुका लागी खर्च गरेको छ ।
देउसी भेलो खेलेको रकम वनभोज, भ्रमण लगायतका रमाइला कार्यक्रममा खर्च गर्ने प्रवृत्तीलाई तोड्दै धादिङको सेमजोङ गाऊँ विकास समिती वडा नंबर ४ मा रहेको चौतारा क्लब विद्यार्थीका लागी खर्च गरेको हो । स्थानिय चौतारा माध्यामिक विद्यालयका गरिव, जेहेन्दार तथा बाबुआमा गुमाएका ९६ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको क्लबका सदस्य धन बहादुर तामाङले जानकारी दिए ।
गाऊँमै देउसी खेलेर संकलित रु ३० हजार मध्ये २० हजार बराबरको कापी, कलम लगायतका शैक्षिक सामाग्री वितरण गरिएको हो । अघिल्ला वर्षहरुमा देउसी भैलो खेली संकलन गरिएको रकम फुटबल, भलिबल लगायतका खेलहरु खेली सक्याऊने गरिएको भए पनि यस वर्षबाट सामाजीक काममा रकम खर्चिन सुरुवात गरिएको क्लबका अध्यक्ष छिरिङ तामाङले बताइन्।