५ मंसिर, काठमाडौं – एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार, प्रमुख प्रतिपक्ष र तराई–मधेसमा आन्दोलनरत दलहरूबीचको वार्ताको प्रयासलाई जारी राखेका छन् ।
औपचारिक वार्ताको वातावरण बनाउन उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका प्रचण्डले शुक्रबार प्रमुख प्रतिपक्ष दल कांग्रेसका नेता र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूसँग टेलिफोन संवाद गरेका छन् । प्रचण्डले कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेल र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवसँग टेलिफोन संवाद गरेको छ ।
प्रचण्डले पौडेल र यादवलाई समस्या समाधानका लागि गम्भीर भइदिन आग्रह गरेका थिए । ‘सहमतिका लागि अध्यक्ष प्रचण्ड अनौपचारिक संवादमा हुनुहुन्छ,’ उनका सहयोगी शिव खकुरेलले भने, ‘आज ९शुक्रबार० कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेल र तमसपाका अध्यक्ष महेन्द्र राय यादवसँग टेलिफोन संवाद गर्नुभयो ।’ टेलिफोन संवादमा पौडेलले समस्या समाधानका लागि कांग्रेसले पनि पहल थालेको जानकारी दिएका थिए । प्रचण्ड र पौडेलबीचको संवादपछि शनिबार बिहान सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच वार्ता हुने भएको छ ।
स्रोतका अनुसार सत्तापक्ष र प्रतिपक्ष कांग्रेसको साझा धारणा बनाएर मात्रै मधेसी मोर्चासँग वार्तामा बस्नेमा दुवै पक्ष सहमत भएका छन् । तमसपा अध्यक्ष यादवसँगको टेलिफोन संवादमा प्रचण्डले सरकार पक्ष सहमतिको पक्षमा रहेको बताएका थिए । तर, यादवले भने समस्या समाधानका विषयमा ठोस कुरा नभएको बताए । ‘काठमाडौंमै हुनुहुन्छ कि कता हुुनुहुन्छ भनेर सोध्नुभयो,’ प्रचण्डसँगको टेलिफोन संवादबारे यादवले भने, ‘मैले हामी यतै छौँ भने अरू केही कुरा भएन ।’
नयाँ पत्रिकाबाट