काठमाडौं – नेपाली कांग्रेसले जारी राजनीतिक गतिरोध अन्त्य गर्न पहल गर्ने निर्णय गरेको छ । कांग्रेस पदाधिकारीको आइतबार बसेको बैठकले आफ्नै नेतृत्वमा गतिरोध अन्त्यको पहल गर्ने निर्णय गरेको हो ।
त्यसका लागि आन्दोलनरत मधेसी मोर्चालाई सहमतिमा ल्याउन वार्ता र छलफललाई निरन्तर अघि बढाउने बैठकपछि कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले जानकारी दिए ।
कांग्रेसले मोर्चाको माग सम्वोधन गर्न संसदमा दर्ता गराएको विधेयकलाई अघि बढाउन माग गर्दै आएको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकपछि देउवाले भने, ‘कांग्रेसले इनिसियसन लिएर मधेसी मोर्चासँग वार्ता र छलफल अघि बढाउँछ र गतिरोध अन्त्य गर्छ ।’
गतिरोध अन्त्यका लागि कांग्रेसले शनिबार मधेसी मोर्चासँग वार्तासमेत गरेको थियो ।