भक्तपुर- भक्तपुर नगर क्षेत्रभित्र धान सुकाउने ठाउँको अभाव भएपछि भक्तपुरका कृषकले सार्वजनिक स्थल, सडक, चौर, पार्क, मन्दिर र घाटमा धान सुकाइआएका छन् ।
विशेष गरी नगर क्षेत्रमा नेवार समुदायका लागि धान सुकाउने ठाउँको अभाव भएपछि यहाँका कृषकले सडक, पार्क र भूकम्पले क्षति नपु¥्याएका ठाउँमा धान सुकाउने गरेका हुुन् । विनाशकारी भूकम्पका कारण धान सुकाउने ठाउँको अभाव भएपछि पैदल मार्गका रुपमा प्रयोग हुने सडकहरुमा धान सुकाउँदा सर्वत्र धानैधान देखिएको हो । यसरी धान सुकाउँदा भक्तपुर घुम्न आउने पर्यटकसमेत मुग्ध हुन्छन् ।
भक्तपुर नगरपालिका चोछेंका राजाराम श्रेष्ठले धान सुकाउने ठाउँ नभएपछि रहरले नभई बाध्यतावस सडकदेखि मन्दिरसम्म धान सुकाउनुपरेको बताए । धान सुकाउने ठाउँ अभावमा भक्तपुरका कृषकले सडक, चौर र खुल्ला क्षेत्रमा समेत आलोपालो गरेर धान सुकाउने गरेको भक्तपुर व्यासीका रामकृष्ण प्रजापतिले बताए ।
भक्तपुरको च्याम्हसिंह, ब्यासी, जिल्ला प्रशासन कार्यालय जाने सडक, खानेपानी कार्यालय क्षेत्र, दूधपाटी जाने सडक क्षेत्र, पोखरी आसपासलगायतका सडक र खुल्ला क्षेत्रमा कृषकले सामूहिक रुपमा धान सुकाएका छन् । त्यस्तै, ब्रह्मायणी मन्दिरदेखि विभिन्न मन्दिर क्षेत्र, पोर्टरी स्क्वायरलगायतका पर्यटकीय क्षेत्र र भक्तपुरको हनुमानघाट क्षेत्रमा समेत सामूहिक रुपमा धान सुकाएको देखिन्छ । रासस