
३० कात्तिक, धादिङ । धादिङका सुन्तला उत्पादक किसानहरुले यस वर्ष घाटा वेहोर्नु पर्ने भएको छ । सुन्तला उत्पादनका लागि पकेट क्षेत्र मानिएको धादिङको महादेवस्थान, धुषा र जोगिमाराका विभिन्न स्थानका सुन्तला उत्पादनमा कमी आएको हो ।
वर्सेनि सुन्तला उत्पादन घट्दै जान थालेपछि अधिकांश चेपाङ समुदायको बसोबास रहेको महादेवस्थानका किसानहरु चिन्तित भएका छन् । केही वर्षदेखि सुन्तलाबाट घाटा वेहोर्दे आएका महादेवस्थानको माङ्टार, भान्टाकी, लगायतका क्षेत्रका किसानहरुले व्यवसायिक रुपमा खेती गर्दै आएको सुन्तलाको बोट नै मर्न थालेपछि थप चिन्तामा परेका छन् ।
मुख्य आम्दानिको श्रोत सुन्तला भएपनि जलवायु परिर्वतन संगै खेति गर्ने तरिका र रोग तथा उपचारको बारेमा सामान्य ज्ञान पनि नभएकोले राम्रो उत्पादन लिन नसकिएको स्थानिय वर्षिङ चेपाङ बताए । आफ्नै ठाउँमा केहि गर्छु भनि सुन्तला खेति सुरु गरेका किसानहरु वर्षेनी उत्पादन घट्न थालेपछि चिन्ताले सताउन थालेको छ । ४ हजार बोटमा सुन्तला फलाउँदै आएका वर्षिङले अघिल्लो वर्ष करिब १० हजार लिएका थिए । यस वर्ष झनै उत्पादन घटेको उनले बताए ।
एक वर्ष बढी एक वर्ष कम हुन्थ्यो, यो वर्ष फलेकै छैन, महादेवस्थानका कृषक पूर्णबहादुर थापा मगरले गुनासो गरे । ‘१५÷२० वर्षसम्म एउटै बोटमा फल्थ्यो, अहिले ८ वर्ष पनि नपुगेको बोट सबै मरेको छ ।’ पहिले एउटैको बगैचा (डि)बाट ३ लाख सम्मको ठेक्कामा लैजान्थ्यो, अहिले १ लाख पनि दिन मान्दैन ।
२ वर्ष अघि १ लाखमा व्यापारीलाई ठेक्का दिएका पूर्णबहादुरको बगैचामा यस वर्ष ४ कुण्टल पनि सुन्तला नफलेको उनले निशासा सुनाए । केही वर्ष अघिदेखि नै सुन्तलामा देखा परेको रोग पत्ता लगाउन नसक्दा उत्पादन घट्दै गएको पूर्णबहादुरले अनुभव बताए । उनले भने– ‘किन उत्पादन घट्यो ? के कारणले बोट सुक्न थाल्यो ? त्यो कारण हामीले पत्ता लगाउन सकेका छैनौं । अहिलेसम्म कोही प्राविधिकहरु हाम्रो बारीमा आइपुगेका छैनन् ।
महादेवस्थान, धुषा र जोगिमारा गाविसका मानिसहरुको मुख्य आम्दानीको श्रोत भनेकै सुन्तला खेति हो । जलवायु परिर्वतन र प्राविधिक सहयोगको अभावका कारण केहि वर्ष यता सुन्तला उत्पादन क्रमश घट्न थालेको छ ।
त्यस क्षेत्रमा दर्जनौ मानिसहरुले व्यवसायिक रुपमा सुन्तला खेति सुरु गरेको भएपनि राज्यबाट कुनै पनि सहयोग पाउन नसकेको र प्राविधिक सहयोग नपाएकोले आफुहरुले घाटा बेहोर्नु परेको किसानहरु बताउँछन् ।
महादेवस्थानमा मात्र होइन जिल्लामा यस बर्षसुन्तलाको उत्पादनमा गत वर्षहरुमा भन्दा ह्रास आउने अनुमान गरिएको छ । जिल्ला कृषि विकास कार्यलय धादिङका अनुसार गत वर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादन घट्ने अनुमान गरिएको छ ।
सुन्तलाको बोटमा टुप्पो मर्ने रोगका कारण सुन्तलाको बोट विस्तारै सुक्दै जान थालेपछि सुन्तलाको उत्पादन समेत घट्दै गएको किसानहरुले बताएका छन् । धादिङमा करिव ५ सय ९ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जोगिमाराको जवाङ, जयपुरी, भार्पाङ, धुषाको स्यादुल, महादेवस्थान, ज्यामरुङ र नलाङ गाविसका विभिन्न गाउँमा व्यवसायिक रुपमा सुन्तला खेती हुँदै आएको छ । केही वर्षअघिदेखि फैलिएको रोगका कारण सुन्तला उत्पादनमा निकै ह्रास आएको सुन्तला उत्पादक किसानहरुको भनाइ छ ।
जिल्ला कृषि विकास कार्यालयले सुन्तलाको बगैचा व्यवस्थापनमा सुधार आएको दावी गरिरहँदा महादेवस्थानका कृषकहरुको सुन्तला उत्पादन भने वर्षेनी घट्दै गएको छ । यस वर्ष असिना, हावा हुरीले क्षति नपु¥याएपनि आफुहरुले लगाएको सुन्तलाको बोट नै मर्न थालेको र उत्पादन यस वर्ष आधा घटेको किसानहरुले गुनासो गरेका छन् ।