सरिता श्रेष्ठ/ १ कात्तिक, धादिङ – यस वर्षको दशैले गाँउदेखि सहरबजारमा ढपक्कै छाइ सकेको छ । दशैमा नयाँ लुगा लगाउने, मासु खाने तथा पङि खेल्ने परम्परालाई विशेष मानिने गर्दछ ।
धादिङको सल्यानटार गाँउ विकास समितिमा रहेको लोकउन्मुख दराई र कुमाल जातीका मानिसहरु दशैको जोहो के गरी गर्ने भन्ने चिन्तामा रहेका छन् । बैशाख १२ गते गएको विनाशकारी भूकम्पले आफुसँग भएको घर तथा अन्नपात पुरेपछि अस्थायी टहरामा शरण लिन पुगेका यी जातीहरुमा यस वर्षको दशैको रौनकता कत्ति पनि छाएको छैन ।
सल्यानटारका ५० वर्षीय बालकृष्ण कुमाललाई आफ्नो दुई छोरा र एक छोरी सहितको ५ जनाको परिवारलाई धान्न हम्मेहम्मे भएको छ । डोको नाम्लो बुनेर आफ्नो घरव्यहार चलाउदै आएको भएपनि भूकम्पले घाइते बन्न पुगेपछि अहिले समस्या परेको छ । आम्दानीको बाटो केही छैन । घर पनि ढल्यो, पाखो बालीमा मास लगाएर घरखर्ची धान्ने विचार गरेको भएतापनि त्यो पनि अधुरो भएको छ । सुख्खा भएका कारण मासको बोटमा दाना पनि लाग्न सकेको छैन । दशै कसरी मनाउने ? सरकारले घर ढलेकाहरुलाई अस्थायी टहरा निर्माण गर्नका लागि १५ हजार रुपैया दिएको भएतापनि अस्थायी टहरा निर्माण गर्दैमा सकिएकाले अहिले दशै खर्च कहाँबाट ल्याउने भन्ने समस्या परेको छ । ६ जनाको परिवार धान्नका लागि कठिन भएको बेलामा दशैमा बालबच्चाले नयाँ लुगा, मिठो खाना माग्दा मन खिन्न हुने भएको बताए । यस्तै समस्या त्यहाँका अन्य कुमाल तथा दराई जातीहरुमा रहेको छ । खासगरी सल्यानटारको सिकटार, बुटार लगायतका ठाँउहरुका कुमाल समुदायलाई समस्या परेको छ ।
सल्यानटारमा बढी मात्रामा मास खेती हुने ठाँउ हो । आर्थिक संकटको हल गर्न मासको भर परेतापनि सुख्खा भएका कारण मासमा दाना समेत लाग्न सकेको छैन । दाना नलाग्दै बोट मरेका कारण फल लागेर आम्दानी लिगौला भन्ने कत्ति पनि आशा छैन सल्यानटारका बीरबहादुर दराई बताउँछन् । अब कसरी दशै मनाउनु मलिन अनुहार लगाउदै बताउँछन् ।
सरकारले छुट्याएको राहत रकम पर्याप्त नभएपछि त्यहाँका कुमाल तथा दराई समुदायका मानिसहरु आफैले खर्च टार्ने अभियानमा जुटेका छन् । खासगरी बालबालिकाहरु तथा वृद्धवृद्धाहरु समस्यामा रहेको छ । सल्यानटार ६ बेलगाँउमा २ सय २० घरधुरी कुमाल जाती रहेका छन् । भने दराई जातीहरु पनि त्यतिकै मात्रामा रहेका छन् । दराई जाती रहेको सिकटार कोशढुङगा, अगौटा, गैरीगाँउ, बुक्टार,काशीगाँउ, धारागाँउ बेलगाँउ, छापगााउ, लगाएको ठाँउहरुमा बसोबास गर्ने गर्दछ । हरेक वर्षखानेपानीको समस्या भोग्दै आइरहेको त्यहाँका समुदायले भूकम्पपछि आर्थिक संकट पनि भोग्नु परेको छ ।