काठमाडौं – संविधानका सबै धारा बहुमतले पारित भएपछि संविधानसभाले नेपालको नयाँ संविधान दुई तिहाई बहुमतले पारित गरेको छ ।
संविधानसभाले आज संविधानमा थपिएका ६ सहित ३०८ धारा पारित गरेको थियो । त्यसपछि बसेको अर्को बैठकमा विधानको सिंगो विधेयकमाथि मत विभाजन गरिएको थियो ।
मतदानमा ५ सय ३२ सभासदले भाग लिएका थिए । जसमा संविधानको पक्षमा ५०७ मत परेको छ भने विपक्षमा २५ मत परेको छ । राप्रपा नेपालले विपक्षमा मतदान गरेको छ । मतदान प्रक्रियामा ८ सभासद सहभागी भएनन् । तत्काल कायम रहेका कुल ५ सय ९८ मध्ये मधेस केन्द्रित ७ दलका ५७ र एमाओवादीका प्रभु साह सहित ५८ सभासदले मतदान बहिस्कार गरेका छन् । संविधान पारित भएको घोषणापछि शीर्ष नेताहरूसहित सबै सभासदहरु आआफ्नो स्थानबाट उठेर हात उठाएर समर्थन गरेका थिए ।
संविधासभाले संविधानमा भाषाागत रूपमा परिर्वतन नगरी नहुने विषय भए मिलाउन सम्वाद समितिका सभापति डा। बाबुराम भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय समिति समेत बनाएको छ । संविधनसभा सचिवालयले नेपाली कागजमा संविधानका केही प्रति प्रकाशन गर्नेछ भने शुक्रबार बिहान ९ बजेदेखि ३ बजेसम्म सभासदहरुले हस्ताक्षर गर्ने समय छुट्याइएको छ । सभासदहरुले वर्णानुक्रम अनुसार संविधानमा हस्ताक्षर गर्नेछन् ।
सभासदहरुको हस्ताक्षरपछि संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रमाणिकरण गर्नुहुनेछ। त्यसपछि असोज ३ गते साँझ ५ बजे संविधानसभामा विशेष समारोहबीच राष्ट्रपति डा।रामवरण यादवले संविधान जारी भएको घोषणा गर्ने कार्यतालिका तय गरिएको छ ।