
धादिङ-धादिङको गजुरीमा रहेको आदर्श बहुमुखी क्याम्पसमा पुस्तकालय भवनको शिलन्यास गरिएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष, प्रतिनिधि सभा सदस्य एवं पूर्व स्थानीय विकास मन्त्री राजेन्द्र प्रसाद पाण्डेले भवनको शिलन्यास गरेका हुन् ।
पुस्तकालय भवन निर्माण पश्चात क्याम्पसमा अध्ययनरत विद्यार्थी लक्षित मात्र नभई समुदायको पहुँचमा रहने गरी पुस्तकालय निर्माण गर्ने अभिष्ट रहेको पाण्डेले बताए ।

अहिलेको समयमा पछिल्लो पुस्तामा पठन संस्कृतिप्रति देखिएको विकर्षणका कारण आधुनिक पुस्तकालय निर्माण गरी खोज तथा अनुसन्धानको केन्द्र बनाउने र खोजमुलक पठन संस्कृतिप्रति समुदायलाई पनि सुसुचित गराउने ध्येयले यस पुस्तकालय भवन निर्माण गरिएको पनि उनले बताए ।
सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धादिङको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको भवनको रोमन एण्ड रीता इन्जिनियरिङ कन्स्ट्रक्सन प्रा.लि. ठेक्का पाएको छ ।
२०८२ साल असार २० मा निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएको क्याम्पस प्रमुख मुक्तिकला लामिछानेले जानकारी दिईन् ।