
काठमाडौं– ‘होस्टेल ३’ले घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गरेको छ । यो फिल्म शुक्रबारदेखि तेस्रो सातामा प्रवेश गरेको छ । सशान कँडेल ‘सन्तोष’ निर्देशित फिल्मले ठूला ब्यानर, ठूला स्टारका फिल्मलाई समेत कमाइमा चुनौति दिएको छ ।
फिल्मले तेस्रो सप्ताहन्तसम्म घरेलु बक्सअफिसमा ४ करोडको आँकडा छुने प्रक्षेपण गरिएको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिसमा फिल्मले दुई साता (१४ दिनसम्म) देशब्यापी ३ करोड ६७ लाख रुपैयाँ ग्रस कमाएको छ ।
तेस्रो सप्ताहन्तमा फिल्मले ६० हाराहारीमा शो पाएको छ । जुन शो संख्या आफैमा सुखद हो । ‘वर्ड अफ माउथ’ बलियो भएकाले यो सप्ताहन्तमा कमाइमा केही वृद्धि हुने देखिन्छ । विकडेज (आइतबारदेखि बिहीबारसम्म) पनि यसको अकुपेन्सी त्यति निराशाजनक चाहिँ थिएन ।
नयाँ अनुहारका कलाकार र डेब्यु निर्देशकलाई फिल्मको अघिल्लो श्रृंखलाको बक्सअफिसले फाइदा चाहिँ पुग्यो । इतिहासको त्यो जगमा उभिएर ‘होस्टेल ३’ले आफूलाई बक्सअफिसमा हिट तुल्याएको छ । यो फिल्ममा पारस बम ‘कुल ब्वाय’, सिम्रन पन्त, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ लगायतको अभिनय छ ।