
काठमाडौं । कम्बोडिया भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल र कम्बोडियाबीच बुद्ध सर्किटको निर्माणमा साझेदारीको सम्भावनाबारे छलफल गरेका छन् । मन्त्री पाण्डेले कम्बोडियाका पर्यटनमन्त्री हुअट हाक र संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई बोरिनसँग मंगलबार भएको भेटका क्रममा बुद्ध सर्किटको सम्भावनाबारे छलफल गरेका हुन् ।
कम्बोडियाका पर्यटन र संस्कृति तथा धार्मिक मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र कम्बोडियाबीच संस्कृति र पर्यटनका क्षेत्रमा समन्वय र सहयोगको सम्भावनाबारे छलफल भएको थियो ।
भेटका क्रममा मन्त्री पाण्डेले नेपाल र कम्बोडियाको ऐतिहासिक सन्दर्भ र द्विपक्षीय पर्यटन सहयोगको महत्त्वलाई उल्लेख गरेका थिए । “कम्बोडिया र नेपालका इतिहास र धर्म एक अर्कासँग गहिरो सम्बन्ध राख्दछन् । हाम्रा मुलुकहरू दशकौँसम्म युद्ध र संघर्षको अवस्थाबाट गुज्रिएका छन् । अहिले हामी शान्ति, स्थायित्व र समृद्धिको बाटोमा अघि बढिरहेका छौँ,” उनले भने ।
त्यस क्रममा मन्त्री पाण्डेले नेपालका प्रमुख धार्मिक स्थलहरू लुम्बिनी, मुक्तिनाथ र जानकी मन्दिर तथा कम्बोडियाको अङ्कुरवाट दुई देशका साझा सम्पदा र तीर्थस्थलको रूपमा रहेको उल्लेख गरे ।