
काठमाडौँ — नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । मंगलबार बिहान गृह मन्त्रालयमा एक समारोहकाबीच गृह सचिव गोकर्णमणि दुवाडीले प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकमा नियुक्ति गरेको थियो । नियुक्तिसँगै थापा नेपाल प्रहरीको ३१ औं आईजीपी बनेका हुन् । दर्ज्यानी चिह्न ग्रहण गरेपछि बोल्दै महानिरीक्षक थापाले आफूले पहुँचको नभइ पद्धतिको थिति बसाल्न प्रयत्न गर्ने बताए । अपराधको रोकथाम र अनुसन्धान कुनैपनि बहाना र विकल्प बिना अघि बढाउने प्रतिवद्धता जनाए । देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिकमा अमन चयन र कानुनी राज्यको प्रत्याभूति दिलाउन आफूले पहल गर्ने बताए ।
कार्यक्रममा बोल्दै गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीको श्रीवृद्धि गराउँदै मुलुकको शान्ति, सुरक्षा, सुव्यवस्था, सुशासन र अमन चयन कायम गरी सुखी नेपाली र समृद्ध नेपालको लक्ष्यका लागि काम गर्न आग्रह गरे ।