
धादिङ– धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ का विभिन्न समुहमा आवद्ध महिलाहरुबीच अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
ग्रामीण महिलाहरुलाई आत्मनिर्भरता सम्बन्धी ज्ञान दिने उद्देश्यले दुई दिने महिला सशक्तीकरण तथा अभिमुखिकरण गोष्ठी संचालन गरिएको हो ।
बेनिघाट रोराङ गाउँपालिका २ नम्बर वडा कार्यालयको आयोजना तथा व्यवस्थापनमा भएको गोष्ठीमा लैंगिक समानता, महिला अधिकार, नेतृत्व विकास, उद्धमशीलता तथा आर्थिक सशक्तीकरणका बिषयमा छलफल गरिएको छ ।
गोष्ठीमा वडा भरिका आमा समुह र महिला कृषि समुह गरि १७ वटा समुहबाट ९५ जना महिलाहरु सहभागी थिए ।

गोष्ठी उद्घाटन कार्यक्रममा बोल्दै वडाअध्यक्ष हेमराज भुजेलले वडाभित्रका महिलाहरुको क्षमता विकास गरी आत्मनिर्भर बनाउने कुरामा आफु जिम्मेवार भएर काम गरिरहेको बताए । उद्घाटन कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरु, समाजसेवी तथा बुद्धिजीवीहरु, जनप्रतिनिधिहरुले पनि आ–आफ्नो मन्तव्य राखेका थिए । उनीहरुले महिला सशक्तिकरणका लागि पुरुषको भूमिका पनि महत्वपूर्ण रहेको बताएका थिए ।

नारी दिवसको अवसर पारेर कार्यपालिका सदस्य सुन्तलीमाया तामाङको अध्यक्षतामा भएको उद्घाटन गरिएको गोष्ठी समापन भने बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलियाले गरेका थिए । समापन कार्यक्रममा बोल्दै अध्यक्ष थपलियाले महिलाहरूलाई सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा सक्रिय बनाउने वातावरण सिर्जना गर्नु यस्ता गोष्ठीहरुले सहयोग पुग्ने बताए ।
गोष्ठीमा सहभागीहरुलाई प्रशिक्षक इन्दिरा राईले सहजीकरण गरेकी थिइन् । दुई दिने कार्यक्रम पश्चात सहभागीहरु उत्साहित देखिएका छन् ।
