
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको कारक नभएर पनि मार खेप्नुपर्ने नेपालजस्ता मुलुकहरूका लागि जलवायु न्यायको विषय हरेक अन्तर्राष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी भएको बताएका छन् । भौगर्भिक समाजद्वारा सोमबार आयोजित नेपाल भौगर्भिक सम्मेलनको उद्घाटन गर्दै उनले जलवायु न्यायको मुद्दालाई विश्वजगतमा पुर्याउनुपर्ने बताए ।
राष्ट्रपति पौडेलले ‘जलवायु परिवर्तनका असरहरूको न्यूनीकरण, प्राकृतिक प्रकोप र भूविपतको व्यवस्थापन’ जस्तो जल्दोबल्दो विषय मूल कथ्य रहेकाले भौगर्भिक सम्मेलनको महत्वलाई बढाएको छ भन्दै यो मानव दैनन्दिनीसँग प्रत्यक्ष सरोकार रहेको विषय भइसकेको स्पष्ट पारे ।
राष्ट्रपति पौडेलले पृथ्वीको तापक्रममा वृद्धि भइरहेको र विगत तीन दशकको अवधिमा हिमालयमा रहेका हिमनदीहरूको हिउँ एक तिहाइ घटिसकेको उल्लेख गर्दै हिमतालहरू विस्फोटनको सङ्घारमा रहेको बताए । उनले अतिवृष्टिबाट हुने जलप्रकोप, पहिरो र भूक्षयबाट बर्सेनि थुप्रै जनधनको क्षति भइरहेको स्मरण गराए ।
उनले हिमालय पर्वत शृङ्खलामा बेलाबेलामा गइरहने भूकम्प पनि नेपालको विकास निर्माणका लागि समस्याको रूपमा रहेको बताउँदै केही प्राकृतिक प्रकोपहरूको पूर्वानुमान गर्ने पद्धतिको विकास भइसकेको भए पनि भूकम्पसम्बन्धी पूर्वानुमान गर्न सकिने संयन्त्र आजपर्यन्त पत्ता लगाउन नसकिएको बताए ।