
– धनराज वास्तविक
नेपाली कम्युनिष्ट आन्दोलनको करिब ७ दशकको इतिहासलाई फर्केर हेर्दा सुरूका चार दशक नेता कम, कार्यकर्ता र समर्थक बढी रहेको पाइन्छ । कम्युनिष्ट पार्टीको शीर्ष तहमा थोरै नेता, सानो र प्रभावशाली केन्द्रीय तहको व्यवस्था थियो । पछिल्लो समय कम्युनिष्ट पार्टीका केन्द्रीय तह यति भद्धा र अस्तव्यस्त छन् कि भनि साध्य नै छैन । चार पाँच सय जनाको केन्द्रीय कमिटी छ । दर्जनौंको सचिवालय छ । उस्तै भद्धा स्थायी कमिटी र पोलिटब्युरो छ । यसरी हेर्दा वर्तमान कम्युनिष्ट पार्टीमा गुणस्तरभन्दा पनि संख्यात्मक रूपमा कसरी बलियो देखिने भन्ने अस्वस्त, अव्यवहारिक र अवैज्ञानिक प्रतिष्पर्धा चलिरहेको छ भन्न कुनै शंकोच मान्नुपर्ने देखिदैन । कम्युनिष्ट पार्टी नयाँ कार्यकर्ताहरूको अभाव चरम बन्दै गको देखिन्छ ।
नेताहरूको संख्या बढ्दो क्रममा छ भने कार्यकर्ताहरूको संख्या दिनप्रतिदिन घट्दो अवस्थामा छ । कम्युनिष्ट पार्टीका जनसंगठनका रूपमा रहेका अखिल र युवा संघहरू मृत जस्तै छन् । नेता कार्यकर्ता उत्पादनको नर्ससरीको रूपमा लिइने अखिल युवा संघ यसरी कोमामा पुग्नुले कम्युनिष्ट पार्टीलाई फाइदा हुने कुरै भएन । हाम्रो मुलुक युवा विहिन बन्दै गए जस्तै कम्युनिष्ट पार्टी कार्यकर्ता विहिन बन्दै गएको अवस्था छ । देश बुढापाकाहरूको हुने र कम्युनिष्ट पार्टी नेताहरूको बन्ने अवस्थालाई कसरी हल गर्ने ? कसरी यस अवस्थाबाट पार्टीलाई बचाउने भन्ने बारेमा छलफल हुनुपर्छ । जो आजको आवश्यकता पनि हो । यहाँ नेकपा –एकीकृत समाजवादी) को बारेमा केही चर्चा गर्न आवश्यक लागेको छ । किन कि उक्त पार्टीले अघि सारेको विचार, सिद्धान्त र कार्यक्रमलाई आधार मानेर नेपाली कम्युनिष्ट आन्दोलनको मुल प्रवाह हो भन्नेगर्छ ।
९ भदौ २०७८ सालमा नेकपा (एमाले) बाट विभाजित बनेर गठन भएको पार्टी हो एकीकृत समाजवादी । उक्त पार्टीले स्थानीय, प्रदेश र संघीय निर्वाचन पार गरेर अर्को निर्वाचनको तयारीमा जुट्नुपर्ने बेलामा पार्टी बन्छ या बन्दैन ? भन्ने खालको गम्भीर बहस गरिरहेको छ । आखिर किन ? यस स्तम्भमा यही सवालको जवाफ खोज्ने प्रयास गरिनेछ । जसको मनसाय पार्टीको आन्तरिक सुधार हुनेछ । नेताकार्यकर्ताहरूको आखिर अवस्थाको लेखाजोखा गरिने छ ।
नेताको बाहुल्यता
माधवकुमार नेपाल र झलनाथ खनाल जस्ता अनुभवि, पूर्वप्रधानमन्त्रीहरूको पार्टी आज सानै भएपनि मुलधारका मिडियामा समाचार बन्ने पार्टी मध्यको एउटा पार्टी हो । उक्त पार्टीभित्र नेपाल र खनाल मात्र नभए घनश्याम र रामकुमारी झाँक्री जस्ता दरिला र भरिला खम्बा पनि छन् । जसले तितो बोल्छन्, रूखो बोल्छन्, तर तत्थ्यका आधारमा सत्य बोल्छन् । समाजिक र राजनीति रूपमा चर्चामा रहने यी चार जना नेताहरू बाहेक प्रकाश ज्वाला, गंगालाल तुलाधर, जगन्नाथ खतिवडा जस्ता अनुभवी दोस्रो तहका नेताहरू पनि छन् । पढ्ने लेख्ने, राम्रो विश्लेषण गर्ने नेताहरू पनि त्यत्तिकै छन् ।
एकीकृत समाजवादी पार्टीभित्र नेताहरूको कुनै कमी छैन । नेताहरूको बाहुल्यताको बारेमा नेता नेपालले भाषण गरेको सुनिन्छ । उनले विगतमा गरेको संघर्षको कथा प्रायः भाषणामा सुनाउने गर्छन् । सायद नेताको कमी छैन भन्नु र संघर्षको कथा सुनाउनुमा कुनै खास रणनीति होला । कोके, माले, एमालेहुँदै एकीकृत समाजवादी निर्माणसम्मको संघर्षको कथा कम रोचक हुने कुरा पनि भएन । पछिल्लो पुस्ताका निम्ति पाठ र सिकाइ होस् भनेर पनि आफ्नो पार्टीमा रहेका पुराना र पाका नेताहरूको बाहुल्यता छ भन्दा कार्यकर्ता पंक्ति निरास नहोस् भन्ने पनि हुनसक्छ ।
खैर, नेताहरूले पार्टीमा नेता छन् भनेर मात्रै समाजले पत्याउने अवस्था हुँदैन । नेता वैचारिक, सैद्धान्तिक, व्यवहारिक र गतिशली भएन भने जनताले पत्याउदैनन् । त्यस्तो नेतालाई समाजले पत्याउदैन । एउटा नेता पार्टीभित्र मात्रै प्रभाव राख्न सक्ने हुन्छ । अर्को नेता पार्टीभित्र र बाहिरसमेत प्रभाव राख्न सक्ने हुन्छ । अर्थात सबै प्रकारका नेता कार्यकर्ताहरूको सामूहिक रूप नै पार्टी हो । पार्टी बन्न नेता, कार्यकर्ता र जनताको सहभागिता चाहिन्छ । अझ प्रगतिशील, अग्रगामी र समाजवादी क्रान्तिको झण्डालाई उठाउन बेदाघ नेतृत्व, असली कार्यकर्ता र सचेत नागरिक बिना सम्भव हुँदैन । नेतृत्व, कार्यकर्ता र जनताहरू परिवर्तन र उपलब्धिहरूको रक्षा गर्नेभन्दा आफ्नो स्वार्थ केन्द्रित बनेको अवस्थामा पार्टी कमजोर बन्छ । पार्टी कमजोर बन्दा लोकतन्त्र कमजोर बन्छ । लोकतन्त्र कमजोर बन्दा राष्ट्र, जनता कमजोर बन्छन् । अन्ततः मुलक असफल, अराजकतातर्फ उन्मुख बन्छ । नेताहरूको गुणस्तर, विगत र वर्तमान हेरेर मात्रै जनताहरू पार्टीप्रति अकर्षित हुन्छन् । नेताहरूको संख्याले नभएर, गुणस्तरले पार्टीको भविष्य निधारण गर्छ भन्ने कुरा भुल्नु हुँदैन ।
कार्यकर्ताको अवस्था
मैले बारम्बार भन्दै र लेख्दै आएको छु कि नेपालको कम्युनिष्ट आन्दोन जुनदिन बहुदलिय प्रतिष्पर्धामा गयो, त्यही दिनबाट गुणस्तर पक्षलाई भुल्यो । अर्थात प्रतिष्पर्धाको नाममा संख्यात्मक कुरा प्रमुख बन्यो । गुणस्तर गौण बन्यो । मुल प्रसँगमा फर्किदा नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी टिम अत्यन्तै राम्रो र पाको टिम छ । लामो अनुभव हासिल गरेका नेताहरू बाहुल्यता छ । यसमा दुईमत छैन । ती नेताहरूको सक्रियता, क्रियाशिला र प्रभावशालीता कत्तिको छ ? यसका बारेमा माथि पनि सामान्य चर्चा गरिएको छ । अर्कातर्फ पहिलो पुस्ताका नेताहरूको बारेमा हामीभन्दा जनताहरू धेरै नै जानकार छन् । तर, पार्टीका स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी, प्रदेश र जिल्ला कमिटीको नेतृत्वका बारेमा केही प्रश्न उठाउन लायक छन् । किन कि उनीहरूलाई गल्ति गर्ने छुट छैन । अघिल्लो पुस्तालाई देखाएर उम्किन मिल्ने अवस्था छैन ।
अबको बाटो र विकल्वपका बारेमा दोस्रो र तेस्रो पुस्ता निक्कै जिम्मेवार बन्नुपर्छ । स्मरण रहोस्, एकीकृत समाजवादी बन्दाखेरी पार्टीमा ४० वर्ष मूनिका ४० प्रतिशत युवाहरूको सहभागिताको प्रश्न चलेको बेला एकीकृत समाजवादीमा युवाहरूको उपस्थिति बलियो बन्ने अपेक्षा थियो । सुरूमा युवाहरू नलागेका पनि होइनन् । एउटा शंका थियो, युवाहरूसँग उमेर छ, समय छ, अवसर र मौका पाउदा वित्तिकै वा अवसर नपाउदा वित्तिकै जुनसुकै बेला पार्टी छोड्न सक्छन् । आज आएर सुरूको शंका विस्तारै पुष्टि हुँदै गइरहेको छ । युवाहरूको भरोसाका रूपमा एकीकृत समाजवादी पार्टी बनाउने भन्दा पनि निराश पार्ने काममा पदाधिकारी टिम सक्रिय देखिन्छ ।
युवा नेता कार्यकर्ताहरूको साथ, सहयोग र सर्मथन बिना कुनै पनि पार्टीको भविष्य सुन्दर बन्दैन । कुनै पनि कुराको राम्रो र नराम्रो पक्षहुन्छ । तर, तुलनात्मक रूपमा राम्रो कुरालाई अंगालेर अघि बढ्नुको विकल्प रहँदैन । हिजोका दिनमा युवाहरूले भविष्य एकीकृत समाजवादी पार्टीमा देखेका थिए । आज पनि युवाहरू अरूभन्दा कम खराब नेता र नेतृत्व हाम्रै हो भन्नेर सोही पार्टीमा लागेको बताइरहेका छन् । आजका युवाहरू शिक्षित छन् । दिक्षित छन् । मात्र अवसरबाट वञ्चित छन् । उचित जिम्मेवारी पाउन सकिरहेका छैनन् । समयको कुरा समयमा नहुँदा यहाँ धेरै कुरा बिग्रेको देखिन्छ । समयमै जिम्मेवारीमा नपुग्ने, पुगिहाले पनि घेराबन्दीमा पार्ने र राजनीति सकिदिने खालको गैरराजनीतिक कार्य नेतृत्वहरूले चलाएका गुटबाट हुनुलाई कदापी राम्रो भन्न सकिदैन ।
समाजवादी क्रान्तिका निम्ति असली क्रान्तिकारी योद्धाहरूको आवश्यक हुन्छ । तर, आज एकीकृत समाजवादीमा मात्रै होइन, कुनै पनि पार्टीमा प्रतिवद्ध कार्यकर्ताहरूको संकट छ । अभाव छ । भ्रातृ संगठनहरू ध्वस्त छन् । अर्को महत्वपूर्ण कुरा भनेको नेताहरूका छोराछोरी युरोप अमेरिकातिर पढिरहेका छन् । गरिबका छोराछोरीहरू खाडीमा छन् । यसअर्थ राजनीतिमा युवा आकर्षण निक्कै घट्दो छ । जति संख्या बढिभयो, त्यसैबाट क्षमता बोकेका र राम्रा नेताको जन्म हुने हो । अर्को कुरा, कुनै पनि संगठन, संस्था वा पार्टीभित्रको आन्तरिक लोकतन्त्रले मात्रै विचारको उत्पादन र पुनरोत्पादनको कामलाई जीवित राख्न सक्छ । यसका बारेमा पार्टीका शषी नेताहरू बेखबर जस्तै देखिन्छन् । आन्तरिक लोकतन्त्रलाई मजबुत नबनाईकन मुलुकको लोकतन्त्रका बारेमा वकालत गर्ने नैतिक तागत हामीसँग रहँदैन । नैतिक तागतको हत्या गरेर बनावटी गफ गरेर लोकतन्त्र बाँच्दैन । मुलुक र जनताले शान्ति पाउदैनन् । भाषण र कान्तिकारी अक्षरहरूले आधुनिक जमनामा क्रान्ति नगर्न सक्छन् । यस्ता कुराहरूका बारेमा पनि समिक्षा हुन आवश्यक छ ।
अन्त्यमा, उमेरले मात्र युवा भएर हुँदैन । उसको राजनीतिप्रतिको दृष्टिकोण, बुझाइ, रूची, चाहाना, भावना, क्रियाशिलता, सक्रियता, प्रतिवद्धता, लगाव र झुकाव के छ ? त्यसको पनि पहिचान हुनुपर्छ । कार्यकर्ता पार्टी सदस्य बोकेका हिसाबले मात्र हुँदैन । सदस्य नविकरण गरेर बस्ने कार्यकर्ताले संख्याको गणना बाहेक अर्को योगदान दिन सक्दैन । योग्य र क्षमतावान् कार्यकर्ताले मात्रै समाजलाई नयाँ सन्देश दिनसक्छ । नयाँ विचार दिनसक्छ । नयाँ योजना र मुद्धा दिनसक्छ । यस्ता कार्यकर्ताहरूको संख्या एकीकृत समाजवादीमा तुलनात्मक रूपमा अन्य पार्टीको भन्दा ज्यादा छन् । केही गरौं भन्ने, निःशर्त र निःस्वार्थ ढंगले समाजवादी आन्दोलनको यात्रामा लामवद्ध यस्ता युवाहरूको संख्याले मुलुक र आन्दोलनलाई नयाँ चरणमा लैजान सक्छन् । एकीकृत समाजवादीलाई मुलुकको असल र सफल पार्टी निर्माण गर्ने, विस्तार गर्ने र न्यायप्रेमी पार्टीका रुपमा स्थापित गर्ने काममा युवाहरूलाई उचित जिम्मेवारी दिनुपर्छ ।
अर्कातर्फ सामाजिक न्यायसहितको समाजवाद हासिल गर्ने कुरामा इमान्दारपूर्वक लाग्नुपर्छ । यसमा सहमत हुनेहरू नै असली समाजवादी हुन् । पूर्व एमाले, पूर्व माओवादी, पूर्व अर्को भन्ने खालका अनावश्यक, अराजनीतिक, अनैतिक र अव्यवहारिक कुराहरूले समाजवादी पार्टी बन्दैन । पार्टी बन्नका निम्ति मुलतः विचार, सिद्धान्त र कार्यक्रमले हो । यी तीनवटै कुरा एकीकृत समाजवादीसँग छन् । यसलाई न्यायोचित रूपमा परिचालन गर्ने नेताकार्यकर्ताको इमान्दार प्रयासले मात्रै सम्भव हुन्छ । खासगरी एमालेको धङ्धगी र जडताबाट मुक्त नभएका नेताकार्यकर्ताहरूले समाजवादी पार्टी बनाउदैनन् । सच्चा, इमान्दार र क्रान्तिकारी कार्यकर्तालाई पूर्व पश्चिमको ट्याग लगाउने, यो वा त्यो गुटको सिकार बनाउने, जिम्मेवारी नदिने जस्ता कार्य जारी राख्ने हो भने एकीकृत समाजवादीको भविष्य सुन्दर र उज्यालो बन्दैन । चेतना भया ।