Mon. Mar 3rd, 2025

साहित्य महोत्सवले पर्यटन प्रवर्द्वनमा पनि टेवा पुगेको विश्वास

धादिङ– धादिङबेसीमा दुुई दिनसम्म संचालन भएको साहित्य महोत्सवले लेखक–साहित्यकारलाई थप ऊर्जा दिएको साहित्यकारहरुले नै निष्कर्ष निकालेका छन् ।

बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालयले फागुन १६ र १७ गते संचालन गरेको महोत्सवले साहित्यको प्रवर्द्वन, पठन संस्कृतिको विकास तथा पुराना लेखकबाट नयाँले सिक्ने अवसर मिलेको पनि उनीहरुको निष्कर्ष छ ।

‘साहित्य महोत्सव लेखक र पाठकले एकअर्कालाई भेट्ने मौका पनि बन्योे’, साहित्यकार एवं मदन पुरस्कार विजेता डा. नवराज लम्साल भन्छन्– ‘साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि मन्थन भएको छ ।’ महोत्सवमा सहभागीहरूलाई नयाँ विचार र दृष्टिकोणको अवबोधन भएको पनि साहित्यकार लम्सालले बताए ।

सामाजिक एकता र सञ्जाल निर्माणमा सहयोग पुगेको अर्का साहित्यकार सिर्जना अर्यालले बताइन् । ‘साहित्य महोत्सवले लेखक, पाठक र विचारकहरूलाई एकत्रित गर्न सहयोग पुगेको महशुस भएको छ । एकता र सहकार्यको भावना पनि बढाएको छ । विभिन्न क्षेत्रका लेखक र साहित्यप्रेमीहरूले विचार र अनुभव आदान–प्रदान गर्ने अवसर जुरेको छ’, अर्यालले भनिन् ।

साहित्य महोत्सवले आम नागरिकलाई ज्ञान र शिक्षा प्रदान गरेको संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले बताए । साहित्य, कला, संस्कृति र पर्यटनलाई एकसाथ प्रवर्द्वन गर्ने उद्देश्यले आयोजना गरिएको साहित्य महोत्सवले पर्यटन प्रवर्द्वनमा थप भुमिका खेल्ने विश्वास व्यक्त गरे ।

साहित्य महोत्सवले विभिन्न सामाजिक, राजनीतिक र सांस्कृतिक मुद्दाहरूलाई उठाउने अवसर प्रदान गरेको सुवेदीको भनाई छ । ‘साहित्य महोत्सवले पर्यटन क्षेत्रको विकासमा पनि टेवा पुगेको हामीले महशुस गरेका छौं’, मन्त्रालयका सचिव सुवेदीले भन्छन्–‘साहित्य महोत्सवले समाजको बौद्धिक, सांस्कृतिक र सामाजिक पक्षलाई समृद्ध बनाउन मद्दत पुगेको छ । र, समाजको समग्र विकासमा दीर्घकालिक प्रभाव पर्नेछ ।’

धादिङबेसीमा आयोजित दुई दिने ‘बागमती साहित्य महोत्सव २०८१’ मा कला र साहित्यका विभिन्न विषयमा सर्जकसँग भलाकुसारी, लेखन सिप सम्बन्धी अन्तरक्रिया र रचना बाचन गरिएको थियो । ‘साहित्य, कला र संस्कृतिको प्रवर्धन, वागमती सभ्यताको सम्बर्धन’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा साहित्यकार देखि राजनीतिज्ञहरुले विभिन्न शीर्षकमा बहस गरेका थिए ।

फागुन १६ गते बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले महोत्सबको उद्घाटन गरेको महोत्सवमा एक सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकारलगायतले विचार मन्थन गरेका थिए । नीलकण्ठ नगरपालिका र नीलकण्ठ प्रज्ञा प्रतिष्ठानको सह आयोजनमा सम्पन्न महोत्सवमा बागमती प्रदेशका १३ वटै जिल्लाका साहित्यप्रेमीहरु भेला भएका थिए । महोत्सवले बागमती प्रदेशका कला, साहित्य, संस्कृति तथा सभ्यताको प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुर्‍याएको महोत्सव व्यवस्थापन तथा सहजीकरण समितिका संयोजक विष्णु आचार्यले बताए ।

नीलकण्ठ बालमन्दिर माविको प्राङ्गढ र सिटि हलमा भएको महोत्सवमा नौं वटा समूह छलफल गरिएको थियो । शुक्रबार साँझ काव्य सन्ध्या र शनिबार विहान गजल प्रशिक्षण र शनिबार साँझ गजल वाचन भएको थियो । महोत्सवमा बागमती प्रदेश भित्रका मगर, गुरुङ, तामाङ, चेपाङ, नेवाः समुदायका संस्कृति झल्कने झाँकी, गीत तथा नृत्य, कविता र गजलहरु प्रस्तुत गरिएको थियो ।

About The Author

अन्य समाचारहरु: