Fri. Feb 28th, 2025

साहित्य बुझ्ने राजनैतिक व्यक्तित्व राष्ट्र हाँक्ने असल नायक बन्न सक्छ: बागमती प्रदेश प्रमुख देवकोटा

धादिङ– साहित्य बुझ्न सक्ने राजनैतिक व्यक्तित्व समाज र राष्ट्र हाक्ने असल नायक बन्न सक्ने बागमती प्रदेश सरकारका प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले बताएका छन् ।

साहित्य र कला, खुसी र समृद्ध जीवनको आधार भएको उल्लेख गर्दै देवकोटाले मानवमानवबीचका द्वन्दहरु घटाएर प्रेम, मानवता, एकता र सौहार्दताको बीजारोपण गर्ने महत्वपूर्ण विधा भएको प्रष्ट्याए ।

‘सागररूपी विशाल मानव मष्तिष्कमा सृजनात्मक समुन्द्र मन्थन गरेर अमृत निकाल्न सक्ने क्षमता साहित्यमा हुने उल्लेख गर्दै प्रदेश प्रमुख देवकोटाले भने-‘म राजनैतिक यात्राको उतारचढाव पार गर्दै यहाँ पुगेको व्यक्तिले साहित्यको बयान गर्न त सक्दिन । तर म ढुक्कका साथ भन्न सक्छु, अध्ययनलाई चुनेर निरन्तरता दिने राजनैतिक व्यक्तित्व समाज र राष्ट्र हाँक्ने असल नायक बन्न सक्छ ।’

शुक्रबारबाट धादिङको सदरमुकाम धादिङबेसीमा सुरु भएको ‘बागमती साहित्य महोत्सव २०८१’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै देवकोटाले कला र साहित्य मौन रहेर होईन, बोलचाल र प्रस्तुतिमा हुनुपर्ने धारणा राखे ।

इतिहासका कालखण्डमा साहित्यको योगदानलाई बिर्सन नहुने भन्दै उनले राणाबिरोधी र पञ्चायत बिरोधी आन्दोलन होस् वा निरंकुशता बिरुद्धका आन्दोलनहरुमा साहित्यिक कलमले चेतना, जागरुकता र आन्दोलनको आँधीबेहरी सृजना गरेको समेत स्मरण गराए ।

‘साहित्य प्रेम र करुणा मात्र नभएर न्याय, चेतना, परिवर्तन र रुपान्तरणको उत्प्रेरणा पनि हो’, प्रदेश प्रमुख देवकोटाले भने–‘साहित्य क्षेत्रको विकास र प्रवद्र्धन गर्न सक्नु भनेको युवा पुस्तामा देशभक्ति प्रतिको इच्छाशक्ति बढेर जानेछ ।’

About The Author

अन्य समाचारहरु: