
धादिङ- समाजलाई सही दिशा तर्फ डोर्याउन साहित्यको भुमिका महत्वपुर्ण रहने कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बताएका छन् ।
धादिङबेसीमा आयोजित बागमती साहित्य महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले साहित्य समाजको चनाखो आँखा रहेको पनि उल्लेख गरे । ‘साहित्य समाजको आँखा हो । साहित्यले जीवन र जगतलाई विवेक दिन्छ’, मन्त्री अधिकारीले भने-‘साहित्य नै जीवनको कलात्कम अभिव्यक्ति हो । समाजलाई सही दिशा तर्फ डोर्याउने दृष्टिकोण दिन्छ ।’

समाजमा देखापर्ने घटनाहरुलाई समेटेर अभिव्यक्त गर्ने माध्यम नै साहित्य रहेकोले सभ्य समाज निर्माणमा साहित्यको भुमिका महत्वपुर्ण रहेको उनले बताए ।
‘साहित्य समाजको दर्पण हो । साहित्यले समाजका विकृति र विसंगतिलाई शब्दमा समेटेर जनमानस समक्ष पुर्याउने काम गर्छ। साहित्यले समाजलाई खबरदारी गराउँछ। अनि यही साहित्यमा लागेपछि समाजलाई राम्ररी निहालेर हेर्न पाइन्छ’, मन्त्री अधिकारीले भने ।