
धादिङ – गुरुङ कथानक चलचित्र ‘ङोल्स्यो रामरानी’को च्यारिटी सो फागुन १६ गते धादिङबेसीमा हुने भएको छ ।
नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङको व्यवस्थापनमा ‘च्यारिटी सो’ हुने भएको हो । यहि फागुन १६ गते सिटि हलमा चलचित्र ङोल्स्यो रामरानीको ‘च्यारिटी सो’ हुने नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं धादिङका अध्यक्ष रेख बहादुर गुरुङले बताए ।
अहिले चलचित्रको व्यापक प्रचार प्रसार भईरहेको छ । चलचित्रको ‘च्यारिटी सो’ को लागि विभिन्न जातिय संघ संस्था देखि विद्यालय, आमा समूह लगायतलाई पत्राचार , पम्पप्लेट टाँस, माईकिङ, विभिन्न सञ्चार माध्यमबाट विज्ञापन गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।
‘गुरुङहरुको भाषा, कला, संस्कार संस्कृति समेटिएको उक्त चलचित्रमा राम प्रसाद गुरुङ, सपना गुरुङ, इशा गुरुङ, रेशम गुरुङ, धनसुबा गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ’, भने- ‘चलचित्रलाई विबेक गुरुङले लेखन तथा निर्देशन गर्नुभएको हो ।’
गुरुङ जातीको आफ्नो भाषा र कलाको माध्यमबाट सचेतना जागउने उद्देश्यले धादिङबेसीमा पहिलो पटक गुरुङ चलचित्र ङोल्स्यो रामरानीको च्यारिटी गर्न लागिएको अध्यक्ष गुरुङले बताए । चलचित्र ‘च्यारिटी सो’ को लागि २ सय रुपैयाँ टिकट शुल्क तोकिएको छ । अहिले धमाधम टिकट बुकिङ भइरहेको र चलचित्रको टिकट गुरुङ समुदायले मात्र नभई अन्य समुदायले पनि उत्सुकता पूर्वक अग्रिम बुकिङ भइरहेको छ ।