Sun. Feb 23rd, 2025

चितवन राष्ट्रिय निकुञ्जलाई बाघ पाल्न बजेट अभावले कठिन

चितवन- चितवन राष्ट्रिय निकुञ्जमा खोरमा सात वटा बाघ पालिएका छन् । ती बाघलाई दैनिक पाँच किलो मासु खुवाउनुपर्ने हुन्छ ।

कार्यालयको वार्षिक बजेटले दुई महिना मात्रै पुग्ने गर्दछ । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार चालु आर्थिक वर्षमा बाघको आहारका लागि रु चार लाख ३८ हजार बजेट निकासा भएको छ ।

एक महिनामा सात वटा बाघलाई दैनिक पाँच किलोका दरले राँगाको मासु खुवाउँदा मासिक रु दुई लाख दुई हजार ५०० खर्च हुन्छ । साउन र भदौको मासुको भुक्तानी भएको भए पनि त्यस यताको भुक्तानी हुन सकेको छैन ।

बाघलाई दैनिक मासु खुवाइरहेको भए पनि भुक्तानी गर्न नसकिएको उनले जानकारी दिए। निकुञ्जको कसरामा तीन, देवनगरमा दुई र सौराहामा दुई बाघ खोरमा छन् ।

झण्डै दुई महिनाअघि माडीमा नियन्त्रणमा लिइएको बाघलाई राख्ने ठाउँ नभएर पर्सा पठाइएको थियो । वर्सेनि बाघको आहाराका लागि बजेट घट्दै जाने र नियन्त्रणमा लिनुपर्ने बाघ थपिँदै जाने हुँदा समस्या भएको उनले बताए। थप बजेटका लागि निकुञ्जले विभागमा पत्राचार गर्ने तयारी गरेको छ ।

बाघ हिंस्रक बनेमा नियन्त्रणमा लिएर खोरमा राख्ने गरिन्छ । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा बयस्क १२८ बाघ रहेका छन् ।

About The Author

अन्य समाचारहरु: