Sat. Feb 22nd, 2025

२०८४ मा कांग्रेस-एमालेलाई गठबन्धन गर्न प्रचण्डको चुनौती

काठमाण्डौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०८४ सालको निर्वाचनमा कांग्रेस र एमालेलाई गठबन्धन गरेर चुनाव लड्न चुनौती दिएका छन् ।

आज (शुक्रबार) पोखरामा तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले भने, ‘उपनिर्वाचनमा पनि कांग्रेस-एमालेबीच गठबन्धन गरियो। उनीहरू ०८४ मा गठबन्धन गर्न चाहेका छन्। म चाहन्छु– उनीहरू मिलून् ।’

प्रचण्डले माओवादी एक्लै जनताकोमा जान चाहेको जिकिर गरे । ‘हामी एक्लै जनतामा जान्छौँ । हामी जनताको तागतमा विश्वास गर्छौँ। जनतालाई मेरो अपील छ– तपाईंहरू एकताबद्ध हुनुस्, आफ्नो तागत देखाउनुस् ।’

प्रचण्डले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नसक्ने बताएका छन् । उनले भने, ‘संविधान निर्माणको बेला नै हामीले केही ‘रिजर्भेसन’ राखेका छौँ। संविधान संशोधन नै गर्ने हो भने हामी तयार छौँ ।

तर, कसका लागि, कसको पक्षमा रु यो महत्वपूर्ण प्रश्न हो ।’ प्रचण्डले माओवादी केन्द्र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणालीको पक्षमा रहेको उल्लेख गर्दै भने, ‘यसले मात्र राजनीतिक स्थिरता र सुशासन कायम गर्न सक्छ ।’

प्रचण्डले आफू उत्पीडित वर्ग र जातिको पक्षमा रहेको जिकिर गर्दै भने, ‘हामीले उत्पीडित वर्ग, जाति र समुदायको पक्षमा संघर्ष गर्दै आएका छौँ। बीचमा हाम्रो वर्गपक्षधरता कमजोर भयो । अब फेरि वर्गतिर फर्किएर आन्दोलनको उठान गर्ने ठाउँमा छौँ। यसमा दह्रोसँग उभिन्छौँ।’

About The Author

अन्य समाचारहरु: