Sat. Feb 22nd, 2025

पशुपतिनाथमा महाशिवरात्रिकाे तयारी, भक्तजनका लागि धेरैभन्दा धेरै सुविधा दिइने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आउने भक्तजनका लागि धेरैभन्दा धेरै सुविधा दिइने बताएका छन् ।

पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा भइरहेको तयारीको शुक्रबार बिहान अवलोकनपछि सञ्चारकर्मीसँग उनले विश्वका विभिन्न स्थानबाट पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनका लागि सुविधा दिन अहिले पनि काम भइरहेको बताएका हुन् ।

पशुपति क्षेत्रका विभिन्न स्थानमा अहिले पनि खानेपानीका पाइप विच्छ््याउनेलगायत काम भइरहँदा महाशिवरात्रिका अवसरमा आउने भक्तजनका लागि असहज हुने भएकाले छिटो व्यवस्थापन गर्न सरोकार भएका निकायलाई समन्वय गर्न लागिएको कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले बताए ।

महाशिवरात्रिको तयारीका लागि सरकारी निकायसँगै विभिन्न सामाजिक सङ्घ संस्था र व्यक्तित्वको पनि सहयोग आवश्यक रहेकामा उनले जोड दिए । मन्त्री पाण्डेले पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, घाट क्षेत्र, राममन्दिर, मृगस्थली, विश्वरुपलगायतस्थानमा भइरहेको महाशिवरात्रिको तयारीका कामको अवलोकन गरेका थिए ।

महाशिवरात्रिको तयारीका लागि मन्त्री पाण्डेको अध्यक्षतामा २०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । मूल समारोह समिति र उपसमितिले तयारीलाई तीव्रता दिइरहेको कोषले जनाएको छ । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा साधुसन्तको आगमन सुरु भइसकेको छ । पशुपति क्षेत्रमा आएका साधुसन्तलाई स्वर्गद्वारी आश्रमलगायतले आवास, भोजन एवं धुनी ताप्ने व्यवस्था सुरु गरिसकेका छन् ।

About The Author

अन्य समाचारहरु: