![](https://www.pabilnews.com/wp-content/uploads/2025/02/shekhar-koirala-1737981988-1024x768.jpg)
काठमाडौं – नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले अध्यादेशबाट देश चलाउने कुरा निरंकुशताको प्रस्थानविन्दु भएको बताएका छन् ।
सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेसको संस्कार अध्यादेशबाट देश चलाउने नभएको भन्दै लोकतन्त्रमा सकेसम्म संसद्बाट नै ऐन, कानुन बनाउनुपर्ने बताए ।
दुई तिहाईको सरकारलाई अध्यादेशको जरुरी नरहेको बताउँदै उनले भने, ‘अध्यादेशबाट देश चल्ने भनेको निरंकुशताको प्रस्थानविन्दु हो । हुनतः नेपाली कांग्रेस र एमालेको सरकार बन्नुपर्छ भनेर भन्ने पहिलो व्यक्ति म नै हो । ओलीजीसँग दुई चार राउण्ड कुरा गरिसकेको थिएँ, त्यसपछि भनेको हो ।’
उनले गलतलाई गलत भन्न नसक्ने हो भने कांग्रेसको औचित्य सकिने भन्दै भने, ‘अहिले के भइरहेको छ भने अध्यादेशबाट देश चलाउने कल्चर नै होइन, नेपाली कांग्रेसको । डेमोक्रेसीमा भरसक हामीले संसद्बाटै नियम, कानुन, ऐनहरु बनाइकन अगाडि जानुपर्ने हुन्छ । हामीले संसद्लाई छलेर जान खोज्यौँ भने काम लाग्दैन । दुई तिहाई बहुमत छ, छल्नुपर्ने जरुरत नै छैन ।’