Tue. Feb 11th, 2025

आर्यन र केकीसहितको पासपोर्ट दुरुपयोग सम्बन्धी मुद्दा अदालतमा दायर

काठमाडौं – केकी अधिकारी, आर्यन सिग्देल, दीपकप्रसाद आचार्यसहितका कलाकारको किटानी जाहेरीको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले रोशन पराजुलीविरुद्ध केही दिनअघि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

आफ्नो नाम र कागजात दुरुपयोग भएको भन्दै केकी, आर्यन, दीपकसहित अन्य केहीले २०७९ सालमै पराजुलीविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)मा जाहेरी दिएका थिए । पराजुलीले कलाकारको आवरणमा नर्वेमा फिल्म छायांकन गर्छु भन्दै मानव तस्करी गरेको आरोप छ ।

फिल्म ‘तिम्रो नजर’ छायांकनका लागि केकी र आर्यनसहित १४ जनालाई नर्वे लैजाने भन्दै रोशन पराजुली नामका व्यक्तिले दिल्लीस्थित नर्वेजियन दूतावासमा भिसाका लागि आवेदन दिएका थिए । दूतावासले काठमाडौंस्थित पर्यटन बोर्डमा टेलिफोन गरेर बुझेपछि यो प्रकरणको खुलासा भएको थियो ।

लगत्तै केकी, आर्यन र दीपकले फेसबुकमार्फत आफूहरुको संलग्नता नरहेको बताएका थिए । पराजुलीले नेपाल पर्यटन बोर्डको यसका लागि कागजात र हस्ताक्षर कीर्ते समेत गरेको आरोप छ ।

जिल्ला सरकारी वकिलले केही दिनअघि अदालतमा दायर गरेको अभियोगपत्रमा प्रहरीले यसबारे गरेका अनुसन्धान समेटिएको छ । जसअनुसार, पराजुलीले ब्लुबर्ड प्रालि नामक नक्कली फिल्म कम्पनी खडा गरि नर्वेमा ‘तिम्रो नजर’ भन्ने फिल्म छायांकनको लागि सेन्जेन भिसाको आवेदनको कागजपत्र तयार पारेको उल्लेख छ ।

घटना विवरणको आधारमा प्रतिवादी रोशन पराजुलीले सर्वसाधारण व्यक्तिलाई हानीनोक्सानी पुर्‍याइ लाभ लिनको लागि नेपाल पर्यटन बोर्डको नक्कली पत्र तयार पारि लिखत सम्बन्धी कसुर गरेको समेत पुष्टि हुन आएको अभियोग लगाइएको छ । जसअनुसार १४ जना कलाकारलाई भिसा उपलब्ध गराइदिन भन्दै दुतावासलाई आवेदन दिएको देखिएको उल्लेख छ ।

यसरी भिसा आवेदन दिएका अन्य व्यक्ति गैरकलाकार हुन् । केकीले आफ्नो जाहेरीमा आफ्नो राहदानी नलगी आफ्नो नामबाट आफ्नो भन्दा फरक नम्बर राखेर फिल्म सुटिङका लागि भन्दै नर्वे लैजान लागिएको भन्ने विवरण उल्लेख गरेकी छन् । आर्यनले पनि भिसाको लागि सक्कल राहदानी भीएफएस ग्लोबलमा बुझाएको तर दुरुपयोग भएको बताएका छन् ।

About The Author

अन्य समाचारहरु: