
धादिङ । जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य सुरु गर्न सरकारलाई दवाद दिने नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले बताएका छन् ।
धादिङ उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले बुढीगण्डकी आयोजना चाँडै सुरु गर्न दवावमूलक कार्यक्रम सुरु गर्न आवश्यक रहेको बताएका हुन् । ‘विकासको प्रचुर सम्भावना बोकेको बुढीगण्डकी जलविद्युत आयोजना जति चाँडै बन्यो उति चाँडै विकासको ढोका खुल्नेछ’, श्रेष्ठले भने–‘तपाइ सबै उद्योगी व्यवसायीहरु एक भएर बुढीगण्डकी आयोजना छिटो सुरु गर्न दवावमुलक कार्यक्रम गर्नुहोस्, त्यसमा नेपाल उद्योग बाणिज्य महासंघले साथ दिने छ ।’
‘बुढिगण्डकी आयोजनाको लागि हामीले कर तिरेका छौं, तेल किन्दा नै छुट्टै रकम तिरेका छौं । समयमै बुढिगण्डकी बनाउने कुरामा महासंघले पहल गर्नेछ’, श्रेष्ठले थपे ।
धादिङ जिल्लाको विकासको सन्दर्भमा बोल्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले स्वदेशी वस्तुको प्रवद्र्धन, स्थानीय उत्पादनको विक्री वितरणमा जोड दिन व्यवसायीहरुलाई आव्हान गरे । पृथ्वीराजमार्गसहित विस्तारको क्रममा रहेको राष्ट्रिय राजमार्गहरुको विस्तारको काम तोकिएकै समयमा सक्नको लागि आवश्यक सहयोग गर्न पनि स्थानीय व्यवसायीलाई आग्रह गरे । गिट्टी बालुवा व्यवसायीलाई हेर्ने दृष्टीकोण फरक भइरहेको अवस्थामा व्यवसायीहरुले त्यसलाई चिर्दै सम्मान गर्ने वातावरण सिर्जना गराउन पनि श्रेष्ठले सुझाव दिए ।
आगामी कार्यकालको लागि आफुले नेपाल उद्योग बाणिज्य महासंघको नेतृत्व गर्ने भएकाले धादिङ उद्योग बाणिज्य संघसँग मिलेर धादिङको आर्थिक विकास, पर्टयन र कृषि क्षेत्रमा दीर्घकालीन सोचका साथ काम गर्ने योजना रहेको समेत श्रेष्ठले सुनाए ।
पदभार ग्रहण कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष रामकुमार डल्लाकोटीले विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गलाई छिटो भन्दा छिटो सप्पन्न गर्न समन्वय गर्ने र ¥याफ्टिङको प्रचुर सम्भावना त्रिशुली नदी र हिमाली वस्तीहरुको पर्यटन क्षेत्रको विकासमा आफुले सक्दो सहयोग गर्ने बताए । धादिङका व्यवसायीहरु पछिल्लो समय पलायन हुने क्रम बढेकोले नीति निर्माण तहमा रहेकाहरुले त्यसमा ध्यान दिन आग्रह गर्दै पहिले करोड करोडमा लाग्ने पालिकाका ठेक्काहरु अहिले लाखमा नलागेका पर्याप्त उदाहरणहरु रहेको डल्लाकोटीले बताए । व्यवसायीलाई हातखुट्टा बाँधेर काम गर भन्ने प्रवित्तिले गर्दा व्यवसायीहरु मारमा परेको उनको भनाई थियो ।
संस्थाका महासचिव तिलक सिंखडाले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य राख्दै संघका नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष रोहित भण्डारीले धादिङको आर्थिक र सामाजिक विकासमा सहयोग गर्ने बताए । धादिङको आर्थिक विकासको लागि बुढीगण्डकी जलविद्युत आयोजना कोशेढुङगा सावित हुने बताउँदै भण्डारीले बुढीगण्डकी जलविद्युत आयोजना छिटो सुरु गर्न महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठमार्फत सरकारलाई ध्यानाकर्षण गराए ।
गत पुस २६ र २७ गते धादिङबेसीमा सम्पन्न धादिङ उद्योग बाणिज्य संघको ११औं अधिवेशनबाट निर्वाचित अध्यक्ष डल्लाकोटीलाई निवर्तमान अध्यक्ष विष्णुप्रसाद थपलियाले माइन्युट प्रदान गरेर पद हस्तान्तरण गरेका थिए ।