
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद् डा.स्वर्णिम वाग्लेले हालसम्म भएका सबै भ्रष्टाचार तथा अनियमितताका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा उपसभापति डा। वाग्लेले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै, उनले गिरीबन्धु टी-स्टेट, नक्कली भुटानी शरणार्थी, बालुवाटार जग्गा प्रकरणलगायतमा पनि संसदीय छानबिन समिति गठनको माग गरेका छन् । ‘जाँचबुझ आयोग ऐनको प्रावधानमा रहेर पूर्वप्रधानन्यायाधिश वा न्यायाधिशको अध्यक्षतामा न्यायिक आयोग गठन गनुपर्ने अब रास्वपाको चिरस्थायी माग हुनेछ’, उनले भने । रास्वपा सभापति रवि लामिछानेलाई सरकारले दुःख दिइरहेको उनले आरोप लगाए ।
सभापति लामिछानेको निलम्बन फुकुवाका लागि सभामुख देवराज घिमिरेसमक्ष आग्रह गरेको उल्लेख गर्दै उपसभापति डा। वाग्लेले न्यायालयले उचित निर्णय गर्नेमा आशावादी रहेको बताए । नागरिकका कुरा राख्ने, कानुन बनाउने र सरकारलाई उत्तरदायी बनाउने थलो संसद् रहेको उल्लेख गर्दै उनले संसदको प्रभावकारिता बढाउनुपर्नेमा जोड दिए ।
अर्थ समितिमा छलफलका क्रममा रहेको आर्थिक कार्यविधि वित्तीय उत्तरदायित्व विधेयकलाई सरकारले अध्यादेशमार्फत् ल्याउँदा कानुनको उल्लङ्घन भएको उनको भनाइ थियो ।