Thu. Jan 30th, 2025

धादिङमा राष्ट्रिय स्तरको खुल्ला फुटबल प्रतियोगिता आयोजना

धादिङ । धादिङमा पहिलो पटक राष्ट्रिय स्तरको खुल्ला फुटबल प्रतियोगिता आयोजना गरिएको छ । धादिङ फुटबल क्लबले देशभरबाट क्लव तथा टिमहरु सहभागी हुन पाउनेगरी प्रतियोगिताको आयोजना गरेको हो ।

सदरमुकाम धादिङबेसीको खुल्ला मञ्चमा हुने प्रतियोगिताको ‘प्रथम सुमन स्मृति खुल्ला फुटबल प्रतियोगिता’ नाम दिइएको छ । धादिङमा जन्मिएर फुटबललाई व्यवसायिक रुपले अघि बढाउँदै गर्दा निधन हुनुभएका खेलाडी सुमन श्रेष्ठको सम्मान स्वरुप नामाकरण गरिएको क्लवका अध्यक्ष गोपीकृष्ण भण्डारीले बताए ।

‘युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नु, फुटबल खेलको लोकप्रियता वृद्धि गर्नु र स्वस्थ जीवनशैलीको प्रवद्र्धन गर्नु हाम्रो मूल उद्देश्य हो’, क्लवका अध्यक्ष भण्डारीले भने–‘यो प्रतियोगितामा जहाँसुकैबाट जुनसुकै क्ववले सहभागी हुन पाउनेछ । खेलाडीको उमेर र स्थानले प्रतियोगितामा सहभागी हुन रोक लगाइएको छैन । प्रतियोगितामा सहभागी हुने टिमले विदेशी खेलाडी पनि राख्न पाउनेछ ।’

प्रतियोगितामा प्रथम हुने टिमले एक लाख ७५ हजार, दोस्रोले ७५ हजार तथा सेमिफाइनलमा पुग्ने अन्य दुई टिमलाई २५ हजार रुपैंया नगद प्रदान गरिने क्लबका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । धादिङ जिल्लामा भएका खेलकुद प्रतियोगितामध्ये यो नै सर्वाधिक पुरस्कार राशी भएको आयोजकको दावी छ । यसैगरी प्लेयर अफ टुर्नामेन्ट र अन्य विधामा पनि खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

लामो समयदेखि जिल्ला सदरमुकाममा फुटबल प्रतियोगिता सञ्चालन हुन नसकिरहेको अवस्थामा प्रत्येक वर्ष खुल्ला फुटबल प्रतियोगिता सञ्चालन गर्ने योजनासहित यो प्रतियोगिता आयोजना गरिएको क्लवका सचिव सरोज पाण्डेले बताए ।

२०८१ फागुन १२ गतेदेखि १७ गतेसम्म हुने प्रतियोगिता नकआउट चरणमा हुनेछ । नाइन ‘ए’ साइड अन्तर्गत हुने प्रतियोगिताका लागि टिम दर्ता गर्दा कोच र मेनेजर सहित १५ जना हुनेछन् । नौ जनाले मैदानमा खेल्नेछन् भने चार जना अतिरिक्त बस्नेछन् ।

धादिङ फुटबल क्लवले मंगलबार पत्रकार सम्मेलन गर्दै फुटबल प्रतियोगिताकै बीचमा खुला पुरुष म्याराथुन पनि आयोजना गरिएको जानकारी दिएको छ । म्यारुथुनमा प्रथम हुनेलाई २५ हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार नगद पुरस्कार दिइनेछ ।

खेल क्षेत्रको विकास र त्यसप्रति युवाहरुको आकर्षण बढाउने उद्देश्यसहित आयोजना गरिएको दुबै प्रतियोगिता सम्पन्न गर्न जिल्ला सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकाले बजेट व्यवस्थापनमा सहयोग गरेको छ ।

About The Author

अन्य समाचारहरु: