Wed. Feb 26th, 2025

हिमाली जिल्ला मनाङको यात्रा सहज बन्दै

मनाङ – पर्यटकको आकर्षक केन्द्रका रूपमा रहेको हिमाली जिल्ला मनाङको यात्रा सहज बन्दै गएको छ । ट्र्याक खोलेको २० वर्षपछि डुम्रे–बेँसीशहर–चामे खण्डले गति लिएपछि यात्रा सहज बन्दै गएको हो ।

डुम्रे–बेँसीशहर–चामे आयोजनाले गएको आर्थिक वर्षमा आठ किलोमिटर सडक कालोपत्र गरिसकेको आयोजनाका सबइन्जिनियर सुमन अधिकारीले जानकारी दिए । उनका अनुसार बेँसीशहरबाट खुदीसम्म आठ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको हो ।

मनाङतर्फको सडक निर्माणमा मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजनाले पनि सहयोग गरेको छ । भौतिक रूपमा असहज भएका ठाउँमा आयोजनाले काम गरिसकेको छ । जलविद्युत् आयोजनाका गाडी आवतजावत गर्नुपर्ने भएकाले मनाङको विकासलाई पनि सहयोग पुगेको छ ।

बेँसीशहर–चामे खण्डअन्तर्गतका सडक र पुल निर्माणका लागि ५१ करोड रुपैयाँ बजेट विनियोजन भएको आयोजनाका सबइन्जिनियर अधिकारीले जानकारी दिए । आयोजना निर्माणस्थलमा सामग्री पुर्‍याउन सहज बनाउने उद्देश्यले सडक चौडाइ गर्ने, घुम्ती क्षेत्रमा पूर्वाधार र सडक निर्माणलगायत काम भइरहेका बुटवल हाइड्रोपावर कम्पनी लिमिटेडका सहायक प्रबन्धक प्रतिकमानसिंह प्रधानले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: