Sat. Jan 11th, 2025

दीपक रौनियार निर्देशित फिल्म ‘सेतो सूर्य’ युट्युवमा रिलिज

काठमाडौं – दीपक रौनियार निर्देशित फिल्म ‘सेतो सूर्य’ शुक्रबार बाँसुरी फिल्म्सको युट्युव च्यानलबाट रिलिज भएको छ । भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको यो फिल्म सन् २०१६ मा हलमा समेत प्रदर्शनमा आएको थियो ।

दशक लामो सशष्त्र द्वन्द्वको पृष्ठभूमिमा भनिएको कथामार्फत निर्देशक रौनियारले एउटै घरका दाजुभाईबीचको झगडा र विग्रहमार्फत नेपाली समाजमा द्वन्द्वले ल्याएको विभाजनको मर्मस्पर्शी कथा भन्ने प्रयत्न गरेका छन् । शीर्ष भूमिकामा दयाहाङ राई र रविन्द्रसिंह बानियाँ छन् ।

फिल्ममा आशा मगराती, सुमी मल्ल, अमृत परियार, शारदा अधिकारी, दीपक क्षेत्री, देशभक्त खनाल, गणेश मुनाल, प्रमोद अग्रहरि, माओत्से गुरुङ, प्रमिला तुलाचन, अनिल खड्का लगायतको अभिनय छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमै राम्रो समीक्षा प्राप्त गरेको यो फिल्म उक्त वर्ष नेपालबाट अस्करको अन्तर्राष्ट्रिय फिचर विधाको लागि सिफारिस भएको थियो ।

रिलिजअघि निर्माता तथा निर्देशकले यसलाई शुल्क लिएर ओटीटी प्लाटफर्ममा रिलिज गर्ने कि निःशुल्क युट्युवमा रिलिज गर्नेबारे धारणा बुझेका थिए । आगामी १ चैतमा रौनियारको आगामी फिचर ‘राजागञ्ज’ हलमा रिलिज हुनुको झण्डै २ महिनाअघि युट्युवमा रिलिज भएको हो ।

रौनियारले ‘राजागञ्ज’को नेपाल रिलिजका लागि रामबाबु गुरुङको बाँसुरी फिल्म्ससँग सहकार्य गरेका छन् । रौनियारले यसअघि सन् २०१२ मा ‘हाइवे’ पनि निर्देशन गरिसकेका छन् । प्रसिद्ध अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले हेर्नैपर्ने ९ जना निर्देशकको सूचीमा रौनियारलाई पनि समेटेको थियो ।

About The Author

अन्य समाचारहरु: