, काठमाडौं– पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि वैकल्पिक बाटोको प्रयोग गर्न थालिएको छ ।
नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अरुण पोखरेलका अनुसार अहिले तीनवटा वैकल्पिक बाटोबाट सवारी आवागमन भइरहेको छ ।
उनका अनुसार विजयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेबाट भित्रि बाटो त्रिवेणी चोक हुँदै गुम्बाचोकबाट राजमार्गमा निस्कने एउटा रुट प्रयोग भएको छ । जुन रुट अहिले चलिरहेको राजमार्ग भन्दा ५ किलोमिटर लामो पर्न जान्छ ।
त्यस्तै, ठूला सवारी साधन ज्यामिरे पेट्रोलपम्प हुँदै सिजीचोक, डाँडाचौर, होङ्सि गेटमा पुग्ने अर्को बाटो प्रयोग गरिएको छ । उक्त बाटो १८ किलोमिटर लामो पर्नजाने सीडीओ पोखरेलले बताए ।
त्यस्तै, भाँचिएको पुल नजिकै अर्को एउटा डाइभर्सनबाट पनि सवारी आवागमन गराइएको छ । उक्त रुटबाट भने ६ पांग्रे सवारी साधन मात्रै ओहोरदोहोर भइरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, पूर्व नवलपरासीका डीएसपी जेशी शाहले अहिले सडक आंशिक रुपमा चलिरहेको जानकारी दिए । उनका अनुसार चिनियाँ इन्जिनियरको टोली पुलमा पुगेर अहिले अध्ययन गरिरहेको छ ।
‘चाइनिज कम्पनीका इन्जिनियरहरू आएर मर्मतको कामका लागि अध्ययन गरिरहनुभएको छ,’ उनले भने, ‘अँध्यारो भएकाले काम गर्न केही असहज भएको छ ।’शुक्रबार साँझ साढे ५ बजेतिर दुम्किबासमा पुल भाँचिदा यातायात नै अवरुद्ध भएको थियो ।
पूर्वी नवलपरासीमा रहेकामध्ये विनयी खोलामा बनेको यो सबैभन्दा लामो पुल हो ।