काठमाडौं– शुक्रबार बिहान पक्राउ परेका भारतीय अभिनेता अल्लु अर्जुन बेलुका अन्तरिम जमानतमा रिहा भएका छन् । भारतको हैदरावादस्थित नामपल्ली अदालतले अभिनेतालाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाएको थियो ।
तर तल्लो अदालतको यो निर्णयलाई उनले उच्च अदालतमा चुनौति दिए । तेलंगाना उच्च अदालतले जमानत दिएको भारतीय संचारमाध्यमले जनाएका छन् । सुनुवाइका क्रममा कलाकारलाई स्वतन्त्रताको अधिकार रहेको पनि बताइएको छ । उनी एक अभिनेता भएकाले मात्रै सबै दोष उनीमाथि लगाउन नसकिने पनि अदालतको भनाइ छ ।
अल्लुलाई शुक्रबार बिहान कडा सुरक्षाबीच उनको घरबाटै पक्राउ गरिएको थियो । हैदरावाद प्रहरीले उनलाई कारमा प्रहरी चौकी ल्यायो र त्यहाँ सोधपुछ गरेको थियो । त्यसपछि आवश्यक मेडिकल जाँचपछि अभिनेतालाई तल्लो अदालतमा पेश गरियो, जहाँबाट उनलाई १४ दिनका लागि जेल पठाइएको थियो ।