२५ भदौ, काठमाडौँ – आज शुक्रबारदेखि सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागु हुने भएको छ । सरकार र ब्यबसायीबीच भएको सहमति अनुसार आजबाट नयाँ भाडादर लागु गर्न लागिएको हो । यातायात व्यवस्था विभागका अनुसार सार्वजनिक सवारीसाधनको भाडादर २.२ प्रतिशत घटेको छ भने तराईका मालबाहक ट्रकको भाडादर ३।२४ प्रतिशत घटेको छ ।
त्यस्तै, काठमाडौं, नारायणघाट र पोखरा क्षेत्रका मालबाहक ट्रकमा ३.१ प्रतिशत र मिटरजडित ट्याक्सी तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा चल्ने सवारीसाधनको भाडादरमा १.६३५ प्रतिशत घटाउने निर्णय भएको विभागले जनाएको छ ।
यातायात व्यवस्था विभागको भाडादर निर्धारण समितिका संयोजक शरद अधिकारीले काठमाडौं उपत्यकामा न्यूनतम भाडादर १३ रुपैयाँ कायम गर्ने निर्णय भएको जानकारी दिए । आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि सार्वजनिक सवारीसाधनको भाडादर घटेको हो ।