काठमाडौं – राष्ट्रपतिदेखि कार्यालय सहयोगीसम्मको स्वदेश तथा विदेश भ्रमण भत्ता बढेको छ । सरकारले भ्रमण खर्च नियमावली संशोधन गरी भ्रमण खर्च ७५ प्रतिशतसम्म बढाएको हो । भत्ता वृद्धिसँगै सरकारलाई साधारण खर्चको दायित्व बढ्नेछ । मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिको बुधबारको बैठकले भ्रमण भत्ता नियमावली संशोधन प्रस्ताव पारित गरेको हो ।
अब पदाधिकारी तथा कर्मचारीले भ्रमण तथा काजमा जाँदा नयाँ दरमा दैनिक भत्ता र होटेल बास खर्च पाउनेछन् । प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीले विदेश भ्रमण खर्च मूल्यवृद्धिको अनुपातसँग समसामयिक बनाइएको बताएको छ । नयाँ नियमावलीले भ्रमण भत्ता व्यवस्थित गरेको सुवेदीको दाबी छ । ‘स्वदेश भ्रमणमा दैनिक भत्ता दरमा होटेल बाससमेत समायोजन भएको र भत्तालाई मूल्यवृद्धिको अनुपातसँग मिलाइएको छ,’ सचिव सुवेदीले भने, ‘यसले होटेलमा बस्दैनबसी नक्कली बिल पेस गर्ने विकृति अन्त्य गर्नेछ ।’
महालेखा परीक्षक कार्यालयले हरेक वर्षको प्रतिवेदनमा भ्रमण खर्चमा अनियमितता हुने गरेको उल्लेख गर्दै यसलाई रोक्न सरकारलाई निर्देशन दिँदै आएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा पनि केही सरकारी कर्मचारीले होटेलमा बस्दैनबसी नक्कली बिल पेस गरेर भत्ता बुझेको फेला परेको थियो । अख्तियारको कारबाहीबाट बच्न कर्मचारीले भत्ता फिर्ता गरेका थिए ।
कसले कति पाउनेछन् भत्ता ?
संशोधित नियमावलीअनुसार अति विशिष्ट व्यक्तिले मुलुकभित्र भ्रमण गर्दा दैनिक भ्रमण भत्ता र होटेल बास भत्तास्वरूप एकमुष्ट तीन हजार रुपैयाँ पाउनेछन् । भत्ता लिँदा अबदेखि होटेलमा बसेको बिल पेस गर्नुनपर्ने व्यवस्था गरिएको छ । यसअघि अति विशिष्टले मुलुकभित्र भ्रमण गर्दा दैनिक भत्ता सात सय ५० रुपैयाँ र होटेल बासको खर्च बिलअनुसार पाउने व्यवस्था थियो ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, मन्त्री, सभासद्लगायत अति विशिष्ट पदाधिकारीमा पर्छन् । उनीहरूको विदेश भ्रमणको दैनिक भत्ता बढाएर दुई सय ५० डलर पुर्याइएको छ । यसअघि दुई दुई सय डलर थियो । विदेश भ्रमणमा जाँदा बिल पेस गरेपछि दैनिक तीन सय ५० डलरसम्म होटेल बास खर्च दिने नियमावलीमा व्यवस्था गरिएको छ ।
नयाँ पत्रिकाबाट