–डा. सीता ढुंगाना
हाम्रो देशमा सदियौं देखि पितृसत्तात्मक व्यवस्था र सामाजिक मनोवृत्तिका कारण विभेदको शिकार हुँदै आएका महिलाउपर हुने ज्याजतीको एउटा रूप हो महिला हिंसा । लैङ्गिकताको आधारमा यस्ता किसिमको हिंसा हुने भएकोले विगत केही वर्ष देखि यस्तो हिंसालाई लैङ्गिक हिंसा भन्न थालिएको छ । खासमा लैंङ्गिकताको आधारमा गरिने हिंसा महिला होस् या पुरूष वा लैङ्गिक अल्पसंख्यक जो कोहीलाई गरिने विभेद लैङ्गिक हिंसा हो । तर नेपालको सन्दर्भमा केही अपवाद बाहेक कुनै पनि पुरूष माथि लैंङ्गिक हिंसा छ भन्न पर्ने अवस्था छैन । लैङ्गिक अल्पसख्यकहरूले हिंसा सहन पर्ने कारणले नै धेरै लामो समयसम्म आफ्नो पहिचान लुकाए । नेपालको संविधान २०७२ ले लैङ्गिक अल्पसख्यकको पहिचानको अधिकार र अन्य व्यक्ति सरह राज्यको व्यवस्था उपयोग सम्बन्धी अधिकार प्रदान गरेपछि तेस्रो लिङ्गीले खुलेर आफ्नो पहिचान बताउन थालेका छन् । हाम्रो समाजमा हुने लैंंगिक हिंसाको झण्डै ९५ प्रतिशत हिंसा महिला माथि हुने गर्दछ । महिला भएकै कारण हरेक ठाँउमा विभेद भोग्न परेको स्थिति छ । घरदेखि कार्यलयसम्म विद्यालयदेखि खेल मैदान सम्म सधैं विभेदमा पर्ने भनेको महिला तथा बालबालिकाहरू नै हुन् । त्यो पनि विशेष गरेर गरिब, असहाय, एकल महिला तथा बालिका माथि नै हिंसा हुँदै आएको छ, र यसरी लैङ्गिक हिंसाको उजुरीका तथ्याङ्क विश्लेषण गर्दा लैङ्गिक हिंसाको अपराध गर्ने पीडक पुरूष पाइन्छ । लैङ्गिक हिंसाको विषयमा सचेतना जगाउने विषयमा सबै निकायहरूले अहिले जति पनि कामहरू गरे महिला र बालबालिकाहरूको बिचमा मात्र गरेका छन् । त्यसैले अब लैङ्गिक हिंसाको बिषयमा पुरूषलाई नै संवेदनशील बनाउन जरूरी छ । हाल विद्यमान हिंसाको स्थिती न्यूनीकरण गर्न पुरूष नै जिम्मेवार हुन जरूरी छ ।
यतिबेला नोभेम्बर २५ तारिकदेखि डिसेम्बरसम्म विश्वभरि लैङ्गिक हिंसा विरूद्ध १६ दिने अभियान सञ्चालन भइरहेको छ । विश्व भरि म हिंसा गर्दिन, म हिंसा सहन्न, म हिंसा भएको पाए प्रतिकार गर्छु भन्ने प्रतिवद्धता साथ लैङ्गिक हिंसा विरूद्धको अभियान सञ्चालन भइरहेको छ । लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको शुरूवात महिला माथि हुने हिंसा अन्त्यका लागि सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोवल लिडरसिपको सहयोगमा विभिन्न २३ वटा देशका अधिकारकर्मि महिला समुहले गरेको थिए । त्यसपछि हरेक नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तराष्ट्रिय अभियानको रूपमा विश्वव्यापी मनाउँदै आएको पाइन्छ । लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको ऐतिहासिक पृष्ठभूमि ल्याटिन अमेरिकाबाट सुरू भएको हो । ल्याटिन अमेरिकाको डोमिनिकन गणराज्यमा सन् १९६० तिर तत्कालिन त्रुजिलो तानाशाहि सरकारले शासन गरिरहेको बेला थियो । मिरावेल परिवारका तीन साहसी दिदी बहिनीहरू पेट्रिया, मिनर्भा, र मारियलाई राजनीतिक गतिविधीमा संलग्न भएको आरोपमा तत्कालिन त्रुजिलो सरकारले सन् १९६० नोभेम्बर २५ मा विभत्स हत्या गर्यो । यसरी तीन दिदीबहिनीको हत्यालाई महिला विरूद्धको हिंसाको रूपमा लिई २५ नोभेम्बरको दिन ल्याटिन अमेरिकाको महिलावादीहरूद्धारा उनीहरूको सम्झनामा विभिन्न कार्यक्रम गरि हिंसा विरूद्धको सचेतना कार्यक्रम गरि मनाउँदै आएकोमा पछि सन् १९९९ मा संयुक्त राष्ट्र संघद्धारा यसलाई आत्मसाथ गरि नोबेम्बर २५ को दिनलाई संसारभर नै महिला विरूद्ध ंिहसा अन्त्यका लागि अन्तराष्ट्रिय दिवसको रूपमा स्थापित गरियो ।
नेपालमा भने १६ दिने अभियानको सुरूवात वि.स २०५४ सालदेखि मात्र भएको हो यस अवधिमा महिला बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था वा सरकारी निकायहरूबा लैङ्गिक हिंसाको विरूद्ध विभिन्न जनचेतनामुलक, हिंसा न्युनिकरणको लागि दवाबमुलक कार्यक्रमहरू हुदैं आएकोमा २०७५ सालमा मन्त्रिपरिषदको निर्णयले सबै स्थानीय पालिका, प्रदेश तथा संघले सामाजिक सचेतना सहित १६ दिने अभियान अनिवार्य संचालन गर्ने निर्णय गरेको छ ।
लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान सेतो रिवन लगाएर पनि ऐक्यवद्धता जनाउने प्रचलन छ । यो चाहिं १९९१ मा क्यानडाबाट पुरूषहरूले “म हिंसा सहन्न, आफु पनि गर्दिन र देखेमा प्रतिकार गर्छु” भनि सेतो रिवन संचालन गरेका थिय । उक्त समय देखि सेतो रिवनलाई लैङ्गिक हिंसा विरूद्ध प्रतिवद्धताको प्रतीको रूपमा प्रयोग गर्दै आएको पाइन्छ । नेपालमा पनि लैङ्गिक हिंसाका विरोधमा ऐक्यवद्धता जनाउन १६ दिन भरि सेतो रिवनको प्रयोग गर्ने प्रचलन छ तर यहाँ सेतो रिवनको अभियान पनि महिलाद्धारा नै चलाइन्छ । जुन जुन देशमा पुरूषहरूले “म हिंसा सहन्न, आफु पनि गर्दिन र देखेमा प्रतिकार गर्छु” भनेर सेतो रिवन लगाएर नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म हिंसा विरूद्ध अभियानको सुरूवात गरे र आज सम्म पनि लैङ्गिक हिंसा न्यूनीकरणको लागि विभिन्न कार्यक्रम नीति बनाउने, कार्यन्वयन र अनुगमनमा पुरूषहरू प्रत्यक्ष रूपमा जिम्मेवार भए ति देशहरूमा लैङ्गिक विकासको अवस्था अन्य मुलुक भन्दा धेरै राम्रो छ ।
अहिले विश्व ‘Towards 30 Years of the Beijing Declaration and Platform for Action: UNiTe to End Violence against Woman” अन्तराष्ट्रिय नारा र नेपालमा “हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता” राष्ट्रिय नाराको साथ लैङ्गिक हिंसा विरूद्ध १६ दिने अभियान चलिरहँदा यसै अभियानको बिचमा पनि नेपालमा हिंसाका घटनाहरू घटिरहेका छन् । कतिपय घटना त बाहिर नै आउदैनन् । घर र समाजको प्रतिष्ठासँग महिलाहरूले आफ्नो पिडालाई राखेका छन् । कथित शिक्षित र धनाढ्य भनिने परिवारमा झन् ठुलो र डरलाग्दो घरेलु हिंसा भएको हुन्छ तर महिलाले सहनु पर्छ घरको झगडा बाहिर लानु हुन्न भन्ने आम बुझाईले महिलालाई आफ्नो पीडा लुकाएर हिंसा लुकाउन बाध्य भएको विभिन्न अध्ययनले देखाएको छ । लैङ्गिक हिंसा न्यूनीकरणको लागि विभिन्न कार्यक्रमहरू भईरहँदा एकातिर सरकारी निकाय, मावनअधिकार कर्मी, नागरिक समाज हिंसा न्यूनीकरण गर्न राज्यको स्रोत, विज्ञहरूको समय खर्चेर आदि हिसाबले सयौं प्रयत्न गरिरहेका हुन्छन् भने अर्कोतिर हिंसामा उद्धत्त अपराधिक मानसिकता भएका क्रुर आत्माहरूबाट हिंसा हुन छोडेको छैन । गत आर्थिक वर्ष २०८०/८१ को प्रहरी प्रधान कार्यालय नक्सालले प्रकाशन गरेको अपराध सम्बन्धी तथ्यांक अध्ययन गर्दा मुलुकमा वर्ष भरिमा हुने कुल अपराधको झण्डै ३० प्रतिशत अपराध लैङ्गिक हिंसाका अपराध छन् ।
गत आ.व. को २०६२४ वटा लैङ्गिक हिंसाका घटनामा ८० प्रतिशत उजुरी घरेलु हिंसाका छन् भने महिला माथि घरेलु हिंसा गर्ने ६७ प्रतिशत पीडितका आफ्नै श्रीमान र बाँकी काका, दाइ, बुवा, वा नजिकको नाता पर्ने कोही पुरूष पात्र देखिन्छ । घरेलु हिंसाका घटनालाई उजुरीको रूपमा प्रहरीको सम्म गएर दर्ता गर्न ति पीडितहरू फेरिपनि घर भित्रकै पुरूषबाट डराउने भएकोले लैङ्गिक हिंसाका घटनाको संख्यामा कमि आउनुको सट्टा उल्टै पीडकलाई अपराध गर्न प्रसय मिलिरहेको छ । हिंसा विरूद्धको अभियान सञ्चालन गर्ने र हिंसाको प्रतिकार गर्ने कि त सरकारी वा नागरिक समाजका जिम्मेवार व्यक्ति (महिला वा पुरूष) कि त महिलाले मात्र यस्ताका कार्यक्रममा सामेल हुने हो भन्ने समाजमा आम मानसिकता बसेकोले पनि लिंङ्गको आधारमा हुने हिंसा न्यूनीकरण हुन नसकेको हो ।
कतिपय अवस्थामा यस्ता हिंसाका घटनाहरूको चासो लिने पनि महिला र हिंसाको प्रतिकार गर्ने महिला मात्र हुने गर्छन जसका कारण हाम्रो समाजको बुझाईमा लैङ्गिक सबाल महिलाको मात्र सबाल हो भन्ने परेको छ । सरकारी निकायमा जिम्मेवार व्यक्ति पनि आफैमा महिला छन् भने बनेका कार्यक्रम प्रभावकारी कार्यन्वयन हुन्छ, यदि उक्त जिम्मेवारीमा पुरूष छ भने कार्यक्रम गर्नको लागि मात्र गरिएको हिसाबले बजेट वा समय गुजारेको देखिन्छ । तर बास्तवमा नारीबादी हुन महिला हुन पर्छ भन्ने होइन जो व्यक्तिले महिलाको स्थानबाट महिलाको पिडा बुझ्न सक्छ उ महिला होस् या पुरूष उ व्यक्ति नारीवादी व्यक्ति हो, र त्यस्ता व्यक्तिबाट मात्र हिंसा मुक्त समाजको विकास आशा गर्न सकिन्छ । जो मान्छे महिला हिंसाको विरूद्ध वकालत गर्छ उ सभ्य समाज निर्माण गर्ने एक जिम्मेवार नागरिक हो । हाम्रो समाज पनि पुरूष प्रधान समाज भएकोले पुरूषले बोलेको कुरा नै यो समाजले सुन्ने गरेको तितो यथार्थलाई मनन् गरि लैङ्गिक हिंसा सचेतनाको विषयमा अबको दिनमा पुरूषलाई नै संवेदनशील बनाउन जरुरी छ ।
लामो समय देखि लैङ्गिक हिंसाको विषयमा महिला बालबालिका लक्षित सरकार र अन्य सरोकारवालाहरूबाट कार्यक्रम हुँदै आएकोले लैङ्गिक हिंसा के हो भन्ने बारे समाज धेरै सचेत भइसकेको छ । महिलाले आफ्नो शरीर माथिको स्वेच्छिक निर्णय कायम राख्न पाउने र महिला अधिकार सहितको समतामुलक समाज निमार्ण गर्न देशको डेड करोड पुरूष संख्यालाई “म हिंसा सहन्न, आफु पनि गर्दिन र देखेमा प्रतिकार गर्छु” भन्ने नारामा प्रतिबद्ध गराई आम जागरण अभियान सञ्चालन गर्नु अबको आवश्यक्ता हो ।
(लेखक ढुंगाना स्थानीय शासन विज्ञ हुन्)