काठमाडौं– काठमाडौं उपत्यका र भारतसँग सीमा जोडिएका सहरहरूमा केही दिनयता वायु प्रदूषण बढिरहेको छ । काठमाडौं उपत्यकाका प्रमुख स्टेसनहरूमा प्रदूषणको मात्रा उच्च हुँदै गएको वातावरण विभागको तथ्यांकले देखाएको छ ।
विभागको रेकर्डअनुसार, कात्तिक २६ गते (सोमबार) दिउँसो ३ः३० बजे पछिल्लो २४ घण्टाको वायु प्रदूषणको मापक एयर क्वालिटी इन्डेक्स (एक्यूआई) भक्तपुरमा सबैभन्दा धेरै १५३ पुगेको छ । यस्तै, रत्नपार्कको १३८, ललितपुरस्थित खुमलटारको १०३ तथा नेपालगन्जको १२२ पुगेको छ ।
वायु गुणस्तरको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरका अनुसार दाङको तुलसीपुर क्षेत्रमा आइतबार दिउँसो सोही समयमा एक्यूआई १२५ पुगेको छ ।
काठमाडौंका विभिन्न स्टेसनमा पछिल्लो २४ घण्टाको औसत पीएम २.५ को मात्रा ७५.७३ माइक्रोग्राम प्रतिघनमिटरसम्म पुगेको विभागको तथ्यांक छ । आइतबार बिहान ९ बजेबाट काठमाडौंमा वायु प्रदूषणको मात्रा बढ्दै गएको हो । सोमबार राति र मंगलबार बिहानसम्म पनि यो मात्राभन्दा बढी नै रहने विभागको पूर्वानुमान छ ।
पीएम ९पर्टिकुलेट म्याटर० १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । यस्तै, पीएम १० ले हावामा धुलोका कणहरूको मापन गर्छ ।
विश्व स्वास्थ्य संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ । सोभन्दामाथि भए वायु अस्वस्थकर तथा जति एक्यूआई बढ्दै गयो उति हानिकर मानिन्छ । पीएम २.५ को मात्रा माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने मापदण्ड छ ।
जाडोयाम र सुक्खायाममा नेपालमा वायु प्रदूषण हरेक वर्ष बढ्ने गरेको छ । हालको प्रदूषणमा भारत र पाकिस्तान क्षेत्रको विशेष प्रभाव रहेको विज्ञहरू बताउँछन् ।
आईक्यू एयरका अनुसार भारतको दिल्ली, पटना, बिहार, मोतिहारी, नयाँदिल्ली, गोरखपुरलगायत क्षेत्र प्रदूषित छन् । सोमबार दिउँसो ३ः३० बजे दिल्ली क्षेत्रको वायुको गुणस्तर ४३० एक्यूआईसम्म पुगेको छ ।
आईक्यू एयरको रेकर्डमा सोमबार सबैभन्दा बढी प्रदूषित क्षेत्र पाकिस्तानको लाहोर देखिएको छ । सोमबार दिउँसो ४ बजेसम्म लाहोर विश्वकै १२१ प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा छ । त्यहाँको औसत एक्यूआई ४४१ पुगेको छ ।
यस्तै, सियलकोट, मुल्तान क्षेत्रको एक्यूआई ७०० भन्दामाथि एक हजारसम्म छ । पीएम २.५ को मात्रा ५०८ माइक्रोग्राम प्रतिघनमिटरसम्म रहेको आईक्यू एयरको रेकर्ड छ ।
पाकिस्तानका विभिन्न सहरमा वायु प्रदूषणको ३० प्रतिशत कारण भारतमा बालीएको पराल छवालीलगायत रहेको त्यहाँका अधिकारीहरूले बताएका छन् ।