काठमाडौं– नेपाल र अमेरिकाबीचको तीन खेलको टी–२० आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ। नेपाली समय अनुसार आज बिहान पौने ६ बजे सुरु भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो।
टेक्ससको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङ्गको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाई १६४ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाएका थिए। त्यस्तै, दिपेन्द्र सिंह ऐरीले २८ रन जोडेका थिए भने अनिल शाह र आशिफ शेखले २७–२७ रन बनाएका थिए।
१६५ रनको लक्ष्यसहित ब्याटिङ्गमा उत्रिएको अमेरिकाले भने २० ओभरमा ७ विकेट गुमाई १४७ रन जोड्न सफल रह्यो। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३ विकेट लिएका थिए।