Mon. Mar 10th, 2025

चितवनबाट काठमाडौं आउँदै गरेको माइक्रोबस पनि झ्याप्लेखोलामै पुरिएको आशंका

धादिङ । चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाडौ छुटेको माइक्रोबस (जम्बो हाइस)पनि झ्याप्ले खोलाको पहिरोमा पुरिएको आशंका गरिएको छ ।

२०८१ साल असोज ११ गते शुक्रबार दिउसो करिब २ बजे मनकामना माई यातायात प्रा.लि. मार्फत संचालित बा २ ख १३४५ नम्बरको बस सम्पर्क विहीन रहेको प्रा.लिका अध्यक्ष नर बहादुर रानाले जानकारी दिए ।

काउन्टरबाट चलानी नबनाई बाहिरबाहिरबाटै यात्रु चढाएर माइक्रोबस काठमाडौका लागि छुटेको र प्रत्यक्षदर्शीहरुका अनुसार माइक्रोबसमा चालक सहचालकसहित १७ जना रहेको बुझिएको रानाले जानकारी दिनुभयो । ‘शुक्रबार चितवनबाट काठमाडौको लागि छुटेको माइक्रोबस पनि भेटिएको छैन, चालक, सहचालक पनि सम्पर्कमा छैनन्’, प्रालि.का अध्यक्ष राना भन्छन्–‘सम्पर्कमा नआएका यात्रुका आफन्तहरुले पनि फोन गरिरहेका छन्, पहिरो झरेको ठाउँमा नै पुरियो की भन्ने आशंकाले त्यसतर्फ जाँदैछौं ।’

टिकट काउन्टरबाट चलानी नबनाई हिँडेकोले सम्पर्कमा नरहेका यात्रुको संख्या समेत यकिन गर्न नसकिएको व्यवसायीहरुले बताएका छन् ।
प्रहरीले भने पहिरो निकै ठूलो रहेको र उद्दारको क्रममा शवहरु एक पछि अर्काे भेटिरहेकोले पहिरोमा कति सवारी पुरिएका छन् र कति यात्रु पुरिएका होलान् भन्ने सम्म आकलन गर्न सकेको छैन । शनिबार राती एक बालक, पाँच महिला र आठ पुरुषको शव निकालेको उद्दार टोलीले आइतबार बिहान थप तीन जनाको शव निकालेको छ ।

गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस सम्पर्कविहीन बस पनि झ्याप्लेखोलाकै पहिरोमा परेको आशंका गरिएको छ । दरौदी यातायात प्रालिका अध्यक्ष नारायण खत्रीका अनुसार शुक्रबार राति करिब १० बजे खानीखोला आसपाससम्म सम्पर्क भएको र त्यसपछि सम्पर्कबाहिर रहेको छ ।

About The Author

अन्य समाचारहरु: