
धादिङ । त्रिसुली नदीमा पानीको बहाव बढेसँगै धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित फुर्केखोला र चामबासका घरहरु उच्च जोखिममा परेको छ । पानीको बहावले नदी किनारका घरहरु भत्काउन थालेपछि स्थानीयहरु त्रसित बनेका छन् ।
नदीको पानीले भेटेका कच्चीहरु भत्किएका छन् भने पक्की घरहरुको पनि जगमा पानीले कटान सुरु गरेपछि स्थानीयले घर खाली गर्न थालेका छन् । नदीको बहाव घरसम्मै उक्लिएको र मढारिएको पानीले जमिन कटान गरेर पहिरो चल्न थालेपछि नदी छेउका घरहरु खाली गर्न थालिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए ।
नदीसँगैका घरको जगसम्मै पानीले कटान गर्न थालेपछि स्थानीयहरुले सरसामान घर बाहिर खाली ठाउँमा सारेका छन् । स्थानीयहरु सुरक्षित स्थान खोज्दै सिद्दलेक गाउँपालिकाको परेवाटार तर्फ सर्न थालेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।

फुर्केखोला क्षेत्रमा करिब २५ घर र चामबास क्षेत्रमा करिब १७ घर त्रिसुली नदी किनारमा छन् । त्यस क्षेत्रमा पुग्नुभएका पत्रकार नवराज छत्कुलीका अनुसार केही घर त्रिसुलीले तानिसकेको छ । नदीको बहाव बढ्ने क्रम नरोकिएको र एकाएक घरका जग पहिरिएर नदीमा मिसिन थालेपछि स्थानीयहरुको भागाभाव भएको छ ।
