
धादिङ -निरन्तरको वर्षातसंगै पृथ्वीराजमार्गको पाइला पाइलामै पहिरो झरेको छ । सडकको अधिकांश भाग हिलाम्मे छ । सडक माथीबाट झरेको लेदोको त गन्ती नै छैन । साना ठूला सवारीहरु सडकमै अलपत्र परेका छन् ।
धादिङको धुनिबेसी नगरपालिका-९ खात्रीपौवामा सडक माथीबाट झरेको पहिरोले नौबिसे नागढुंगा सडक दुईतर्फी बन्द छ । थाक्रे गाउँपालिकाको सिम्लेमा शुक्रबारदेखि सुरु भएको पहिरो अझै रोकिएको छैन । एक ठाउँमा खुलायो अर्को ठाउँमा बन्द हुने क्रम चलिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं प्रवक्ता प्रल्हाद सिलवालले जानकारी दिए।
डोजरको सहायताले पहिरो पन्छाउने प्रयास भइरहेपनि वर्षात नरोकिएकोले समस्या थप जटिल बनेको छ ।
राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नाैविसे-नागढुङ्गा सडक खण्ड अन्तर्गत झ्याप्ले खाेलामा यात्रु बस पुरिएको छ । बसका यात्रु सकुशल रहेका छन् । ना ३ ख ७८५ नम्बरकाे ट्रकमा क्षति पुगेको छ ।
‘स्काभेटर पठाएको तर पानी नरोकिएकाले पन्छाउन सकिएको छैन ।’ प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक सीताराम बिष्टले भने-‘थप क्षति हुन नदिन उच्च सुरक्षा सर्तकता अपनाइएको छ।’
पहिरोले पृथ्वीराजमार्गको महादेवबेसी, गल्छी बैरेनी क्षेत्र पनि लेदो र पहिरोले अस्तव्यस्त बनेको छ । बेनिघाट रोराङ गाउँपालिकाको सलाङघाट, पानीधारा र तिङग्राङखानी लगायतका स्थानमा पनि सडकको अवस्था दयनीय छ ।
पहिरो र खोल्साहरुबाट झरेको लेदो माटोले पृथ्वीराजमार्ग अस्तव्यस्त बनेको छ । पहिरो नभएको स्थानमा पनि राजमार्ग विस्तारको क्रममा निस्किएको माटोले सडक हिलाम्मे छ । बडो कष्टले एउटा पहिरो पार गरेका सवारी अर्को पहिरोमा रोकिन बाध्य छ ।
प्रहरी निरीक्षक सिलवालका अनुसार सडकमा सवारी चल्न सक्ने अवस्था छैन । तीनदिन देखिको निरन्तर पानी नरोकिएसम्म सडक क्लियर गर्न सक्ने अवस्था नदेखिएको उनको भनाई छ ।
पूर्वपश्चिमबाट संघिय राजधानी आवातजावतको मुख्य लाइफलाइन पृथ्वी राजमार्गमा बाढी, पहिरो, सवारीजामले सधैँजस्तो तनाब व्यहोर्नुपरेको छ । राजमार्गबाट जोडेर जताततै खनिएकाका अव्यवस्थित कच्ची सडक र विभिन्न खानीहरु नै राजमार्ग अस्तव्यवस्त हुनुको मुख्य कारक हुन् ।
पृथ्वीराजमार्गमा दैनिक १३ हजार भन्दा बढी गाडी ओहोरदोहोर गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीको रेकर्ड छ