
काठमाण्डौ – धादिङको गजुरी, चितवनको देवघाट, कालीखोला, शक्तिखोर, मकवानपुरको हेडौँडा, रजैया, हात्तिसुडे र आसपासका धेरै ठाउँमा ठूलो पानी परिरहेको छ । यस्तै नवलपुरको देउराली नवल वर्षामापन केन्द्र र दुमकौली वर्षामापन केन्द्र आसपास ठूलो वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नदी तटीय क्षेत्र र डुबान हुन सक्ने होचा ठाउँमा रहनेलाई सावधानी अपनाउन भनिएको छ । ती क्षेत्रमा थप पानी पर्न सक्ने सम्भावना रहेकाले चितवन, धादिङ र मकवानपुर भई बहने खोलामा आकस्मिक बाढीको जोखिम छ । विभिन्न राजमार्ग र सडकमा पहिरोको जोखिम रहेकाले यात्रा गर्दा पनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
अहिले पनि देशका धेरै ठाउँमा पानी परिरहेको छ । गएरातिदेखि नै कोशी, मधेश, बाग्मती, गण्डकी, लुम्बिनीका केही ठाउँ तथा अरू प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो पनि कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । काठमाण्डौ उपत्यकामा अहिले हल्का पानी परिरहेको छ । आज दिउँसो पनि पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।