काठमाडौं -नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलिय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा काँग्रेस र एमालेबीच मतभेद नरहेको बताएका छन् ।
बुधवार काठमाडौंमा नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रजातन्त्र र गणतन्त्रको रक्षका लागि काँग्रेस र एमोलबीच कुनै मतभेद नरहेकाले पूरा समर्थन रहने बताए ।
उनले देशको अवस्था चुनौतिपूर्ण रहेको भन्दै कर्मचारीहरुमा अझ यसको प्रभाव पर्ने बताए । उनले चुनौतिलाई बुझेर काम गर्न आवश्यक रहेको बताए । उनले एमाले र काँग्रेस मुख्य प्रतिष्पर्धी राजनीतिक दल भएको उल्लेख गर्दै कतिपय ठाउँमा समस्या भए पनि समस्याको समाधान गर्नु नै आफूहरुको कर्तव्य भएको बताए ।
यसबारेमा कुनै चिन्ता नलिइकन सरकारले गरेका निर्णयहरुको कार्यान्वयन गर्न कर्मचारीहरुलाई निर्देशन दिए । संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अझ बढी स्थायी गराउनुपर्ने बताए ।
उनले भने, ‘अहिलेको बेला चुनौतिपूर्ण ढंगको अवस्था पनि छ । चुनौतिपूर्ण अवस्थामा कर्मचारी युनियनका साथीहरु अझ बढी जागरुक हुनुहुनेछ। कहाँ चुनौति छ, सबैले बुझ्नुभएको छ । प्रजातन्त्रिक प्रणालीलाई हामीले जोगाउनु छ। त्यसमा हामी सबै लाग्नुछ । यसका सम्बन्धमा आफ्ना आफ्ना मतभेद होलान् । एमालेसँग काँग्रेस र काँग्रेससँग एमाले पार्टीको होलान् । तर एउटा कुरामा यो बहुदलिय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा हामी दुई पार्टीका बीचमा कुनै मतभेद छैन ।’सभापति देउवाले निजामति कर्मचारी स्थायी सरकार भएको बताए ।