
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ धादिङबेसी र वडा नम्बर १२ सांकोष जोड्ने थोपलखोलामा तत्काल बेलिब्रिजको व्यवस्था गरिने भएको छ ।
पुल निर्माणको व्यवस्था गरिदिन माग गर्दै मन्त्रालय पुगेका नेकपा एमाले धादिङको टोलीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले थोपलखोलामा तत्काल बेलिव्रिजको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका हुन् ।
नेकपा एमाले धादिङका इन्चार्ज खेमप्रसाद लोहनी, अध्यक्ष भूमि त्रिपाठी, उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ (गोर्खाली), सचिव राधिका सापकोटालगायतको टोलीले बिहीबार मन्त्रालयमा पुगेर मन्त्री दाहाललाई मागपत्र बुझाउँदै थोपल खोलामा पुल नहुँदा आम नागरिकले भोग्नु परेको सास्तीका बारेमा जानकारी गराएका थिए । मागपत्र बुझ्दै मन्त्री दाहालले तत्काल बेलिव्रिज जडान गर्ने र पक्की पुलको लागि सकेसम्म यसैवर्ष काम सुरु गर्ने गरी योजना अघि बढाउने प्रतिवद्धता जाहेर गरेको एमाले धादिङका सचिव राधिका सापकोटाले जानकारी दिइन् । ‘यो बर्षको वजेट विनियोजन भईसकेकोले अहिले नै पक्की पुलको लागि बजेट निकाल्न कठिन छ । अहिलेको बजेटमा डिपिआरको लागि बजेट आइसकेको छ । त्यसैले तत्कालका लागि बेलिव्रिज जडान गरौं अर्काेवर्ष फास्ट ट्रयाकमा काम हुनेगरी बजेट बिनियोजन गर्ने मन्त्रीज्युले बचन दिनुभएको छ’, सापकोटाले भनिन् ।

सदरमुकाम धादिङबेसीलाई विकटको रुवीभ्यालीसम्म जोड्ने मुख्य सडकको पुल केहीदिन अघिको बाढीले बगाएपछि नेकपा एमाले धादिङका पदाधिकारीसहितको टोलीले मन्त्री दाहाललाई भेटेर पुलको व्यवस्था गरिदिन आग्रह गरेका थिए । मन्त्रीलाई भेट्न जाने टोलीमा उपसचिव उर्मिला रेग्मी, एमाले नेताहरु उमेश थापा, नेत्रप्रसाद नेपाल, दुर्गाकुमार शाक्य लगायत थिए ।
सदरमुकाममा रहेको थोपलखोलामा पक्की पुल बन्न नसक्दा जिल्लाको रुवीभ्याली, खनियाबास, नेत्रावती डवजोङ, गंगाजमुना, त्रिपुरासुन्दरी गाउँपालिकाका वासिन्दाले सदरमुकाम आवत जावत गर्न आकास सफा भएको दिन कुर्नुपर्ने अवस्था रहेको छ । गएको मंगलबार राती आएको बाढीले थोपलखोला कजवेको साङकोष तर्फको एप्रोच रोड बगाईदिंदा दुई दिनसम्म यातायात गुड्न रोकिएको थियो । बाढीले बगाएको भागमा नीलकण्ठ नगरपालिकाले तारजाली हालेर बनाएको भएपनि खोलामा पानीको वहाब बढ्दा जुनसुकै बेला सडक अबरुद्ध हुने अवस्था छ ।
मन्त्री संगको भेटमा जिल्ला सदरमुकामको थोपलखोलाका साथै काष्टेखोलाको कजवे समेत बाढीले क्षती पु¥याएकाले त्यो ठाउँमा पक्की पुल निर्माणका लागि बजेट उपलव्ध गराईदिन समेत माग गरिएको छ ।